गुरुयोजना लिएर आउँदै नगरकोट «

गुरुयोजना लिएर आउँदै नगरकोट

राजधानीबासीको व्यस्त जीवनशैलीसँगै मनोरजञ्नजका लागि आसपासका गन्तव्यको खोजी बढ्दो क्रममा छ । जान–आउन समय धेरै नलाग्ने, खाने–बस्ने राम्रो व्यवस्था, शान्त वातावरण, अझ खर्च पनि कम पर्ने भएपछि घुम्न मन नलाग्ने को पो होला र ? यस्तै गन्तव्यमध्येको एउटा हो नगरकोट ।
काठमाडौँबाट धेरै टाढा पनि छैन । मात्रै ३२ किलोमिटर दूरीमा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ नगरकोट । नगरकोट पुग्नका लागि धेरै समय छुट्याउनु पनि पर्दैन । सार्वजनिक गाडीमा भए १ घन्टा १५ मिनेट, मोटरसाइकलमा झन्डै ४५ मिनेटमै पुग्न सकिन्छ । पर्यटकीय गन्तव्यका लागि नगरकोट एउटा उच्च सम्भावना बोकेको ठाउँ हो । तर पनि यो क्षेत्रले जति पर्यटन क्षेत्रबाट लाभ लिनुपर्ने हो, सकेको छैन ।
मौसमका हिसाबले पनि नगरकोट अनुकूल मानिन्छ । सबैजसो होटलबाट हिमाल अवलोकन गर्न सकिनुका साथै वातावरण निकै शान्त छ । समुद्री सतहदेखि करिब दुई हजार एक सय ७५ मिटर उचाइको नगरकोट सूर्योदय तथा सूर्यास्त र सगरमाथादेखि अन्य चर्चित हिमालको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य पनि नगरकोट हो । सम्भावनाले भरिपूर्ण भए पनि नगरकोट नाम जति प्रख्यात छ, त्यो अनुपातको लाभ सम्बन्धित क्षेत्रका बासिन्दाले लिन सकेका छैनन् । सगरमाथा, अन्नपूर्ण, मकालु, गणेश, लाङटाङ, जुगल, रोलवालिङलगायत क्षेत्रका हिमालको रमणीय दृश्य नगरकोटबाट देख्न सकिन्छ । यति धेरै हिमालहरू देख्न अन्य ठाउँबाट कठिन हुने नगरकोटबासीको भनाइ छ ।
अन्तर निकायबीच समन्वयको अभाव, पूर्वाधार अभाव तथा बजार व्यवस्थापन कमजोर हुँदा नगरकोटले सकेजति लाभ लिन नसकेको सरोकारवालाको भनाइ छ । पूर्वाधारको विकास, जनचेतना कमी, व्यावसायिक वातावरणको विकास नहुनु नगरकोटका लागि चुनौती छ ।
नगरकोटको पर्यटन प्रवद्र्धन गर्न विभिन्न संघसंस्थाले बेलाबेलामा कार्यक्रम आयोजना पनि गर्छन् । सरकारी निकाय, निजी क्षेत्र र समुदायको पहलमा सामजन्स्य हुन नसक्दा पनि नगरकोट वास्तविक नगरकोट बन्न नसकेको हो । पछिल्लो पटक राष्ट्रिय सञ्चार केन्द्रले पनि भक्तपुरको पर्यटन विकासका सम्भावना र अवसरका विषयमा सरोकारवाला पक्षलाई राखेर एकीकृत धारणा बनाउने प्रयास ग¥यो । केन्द्रले गरेको यो प्रयास पर्यटनका विकासका लागि महत्वूर्ण छ । सबै निकायले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने हो भने नगरकोट वास्तविक नगरकोट बन्न सक्छ ।
केन्द्रका अध्यक्ष पेशल आचार्य भक्तपुर जिल्लामा अथाह सम्भावना भएपनि सरकारी निकाय, निजी क्षेत्र र स्थानीय तहको उचित समन्वय हुन नसक्दा विकास हुन नसकेको बताउँछन् । “क्षेत्रफलका हिसाबमा भक्तपुर सानो जिल्ला हो तर यहाँ कलाकौशल, पर्यटकीय क्षेत्र अन्य जिल्लाको तुलनामा धेरै छन् । हामीले आन्तरिक तथा अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्नमात्रै सकेका छैनौँ,” उनले भने, “आगामी दिनमा भक्तपुरको विकासका लागि एकीकृत भएर अगाडि बढ्न पहल गरेका छौँ ।” दिर्घकालिन गुरुयोजना बनाएर पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको उनले बताए । योजनाबद्ध रुपमा काम गर्न नसकिएमा आगामी दश वर्षमा पनि झक्तपुरको अवस्था अहिलेको भन्दा फरक नहुने उनको भनाइ थियो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रचुर सम्भावनाका बीच ओझेलमा परेको भक्तपुरको पर्यटन विकासका लागि बहुआयामिक क्षेत्रलाई समेटेर गुरुयोजनाका साथ प्रवर्धनको काम अघि बढाइनुपर्नेमा जोड दिए ।
त्यस्तै, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भक्तपुरमा दुई घण्टा बिताउने पर्यटक केहीले पानी र कतिपयले कफीमात्र पिएर फर्कने गरेको भन्दै पर्यटकको कम्तीमा एक दिन बसाइ लम्ब्याएर आर्थिक लाभ लिने अभियान सञ्चालन गर्न जरुरी भएको बताए । आव २०७५÷०७६ मा करिब ३२ हजार पर्यटक नगरकोट घुम्न पुगेका थिए । एक विदेशी पर्यटकबाट एक हजार पाँच सय शुल्क लिने गरिएको छ । भक्तपुर नगरपालिकाले पर्यटनबाट वार्षिक करिब ३० करोड रुपैयाँ राजस्व उठाउने गरेको छ । भक्तपुर आउने एकतिहाई पर्यटक नगरकोट पुग्ने गरेको उनले जानकारी दिए ।
भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले भक्तपुर आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन नसक्नु प्रमुख चुनौती भएको बताए । उनले भक्तपुर र आसपासका क्षेत्रको पर्यटन विकासका लागि केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वयका साथ योजनाबद्ध कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए ।
नगरकोट क्षेत्रमा साना–ठूला गरी करिब ५० होटल सञ्चालनमा छन् । आन्तरिक पर्यटकले धानेको नगरकोटमा विदेशीको आकर्षण पनि बढ्दो छ । वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक पुग्ने गरेका छन् । भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण मन्दिर, नगरकोट लगायत पर्यटकीयस्थल व्यवस्थित बनाउन सकिएमा उपयुक्त लाभ लिन सकिने सरोकारवालाको छ ।

प्रतिक्रिया दिनुहोस्