विलासी वस्तु आयात प्रतिबन्ध थप लम्बिने «

विलासी वस्तु आयात प्रतिबन्ध थप लम्बिने

सरकारले विदेशी मुद्रा सञ्चितीमा परेको दबाब घटाउन विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चितीको दबाब घटेको देखिए पनि रुस तथा युक्रेनको युद्ध लम्बिएको तथा विश्वभर आपूिर्त श्रृंखलामा अझै सहजता नआएका कारण महँगी तथा अमेरिकी डलर दुवैको भाउ बढ्दै जाने आशंकाका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको हो ।
मन्त्रालयमा भएको प्रतिबन्धको समीक्षा उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको हो । आयात प्रतिबन्धपछि अर्थतन्त्रलाई केही राहत पुगेका कारण केही समय लम्ब्याने निर्णय भएको मन्त्रालय सम्बद्ध अधिकारीको भनाइ छ । छिटै राजपत्रमा सूचना आउने र प्रतिबन्ध थपको समयसीमा थाहा पाइने मन्त्रालयका अधिकारी बताउँछन् ।
मन्त्रालयले १३ वैशाखमा विदेशी मदिरालगायत १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । गत आर्थिक वर्षमा आयात अत्यन्त बढेका कारण विदेशी विनिमय सञ्चितिमा ह्रास आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
त्यसैले सरकारले विदेशी मदिरा, महँगा गाडी, मोटरसाइकल, मोबाइल, कुरकुरे, चुरोट, हिरा, महँगा टेलिभिजनलगायतको आयातमा गत आर्थिक वर्षको अन्त्यसम्म पूर्ण प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धले विदेशी मुद्रा सञ्चितीमा सुधार भएका कारण मन्त्रालयले ३१ असारमा अर्को सूचना निकालेर १४ भदौसम्मका लागि प्रतिबन्ध थप गरेको थियो ।
तर, आयात प्रतिबन्ध थप भएका कारण दसैँमा महँगी बढ्ने व्यापारीहरु बताउँछन् । तर, मन्त्रालयका अनुसार प्रतिबन्धले सकारात्मक नतिजा दिएको तथ्यांकले देखाएका कारण यसलाई निरन्तरता दिने निर्णय भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार प्रतिबन्धअघि वैशाखमा ९ अर्ब २८ करोड डलर ढुकुटीमा सञ्चिति रहेकोमा गत आर्थिक वर्षको अन्तमा विदेशी मुद्रा सञ्चिती बढेर ९ अर्ब ५४ करोड पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्