Logo

नागरिकता लिनेको भीड बढेपछि बिहान ७ बजेदेखि नै सेवा

जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिने सेवाग्राहीहरुको संख्या बढेसँगै सेवा प्रवाहलाई पनि विस्तार गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपि नागरिकता लिनेहरुलाई अब प्रतिलिपि नागरिकता बिहान वितरण गर्ने भएको छ ।
प्रतिलिपि नागरिकता प्राप्त गर्नका लागि भदौ ९ गतेसम्म अनुसूची फाराम भरेका सेवाग्राहीहरुलाई भदौ १० गते शुक्रबारदेखि बिदाको दिन बाहेक बिहान ७ बजेदेखि १० बजेसम्म वितरण गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । नागरिकता लिने सेवाग्राहीहरुको भीड धेरै भएको र प्रतिलिपि नागरिकता नपाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सूचना नै जारी गरेर प्रतिलिपि प्राप्त गर्न नसकेका सेवाग्राहीहरुका लागि बिहानको व्यावस्था मिलाईएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले हस्ताक्षर गरी जारी गरेको सूचनामा प्रतिलिपि नागरिकता लिने सेवाग्राहीहरुको संख्या बढ्दै गएको र प्रतिलिपि नागरिकता प्राप्त गर्नका लागि भदौ ९ गतेसम्म अनुसूची फाराम भरेका सेवाग्राहीहरुको लागि भदौ १० गतेदेखि बिहान ७ बजेदेखि १० बजेसम्म व्यावस्था मिलाईएको जनाएको छ । पछिल्लो समयमा पर्सामा नागरिकता लिनेहरुको संख्यामा वृद्धि भएको र यसलाई व्यवस्थित गर्नका लागि बिहानदेखि सेवा शुरु गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।
प्रतिलिपिमा पुरानो ढड्डा खोज्न र हेर्न समय लाग्ने भएकोले पाउन नसकेको सेवाग्राहीबाट गुनासो आएकोले बिहानको समय राखिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार दिनमा औसतमा ५० देखि ६० वटा प्रतिलिपि नागरिकता वितरण हुने भएपनि पुरानो अभिलेखहरु हेरेर रुजु गर्दा समय लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्