Logo

नेकपा एसद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।
जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाउने कार्यतालिका रहेको छ । केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले अगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्न समयतालिका तय गरेको बताए । उनले भने, “संविधानको रक्षा, संसद् पुन:स्थापना, मुलुकमा राजनीतिक स्थिरताका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”
देशभरका लोकतान्त्रिक समाजवादी शक्ति एक ठाउँ भएर मुलुकको स्थिरता र स्थायित्वका लागि संसद् पूर्णकाल सञ्चालन गरी आगामी मङ्सिर ४ गते निर्वाचन गर्न लागिएको जानकारी दिँदै उनले निर्वाचनमा साझा उम्मेदवार उठाइने बताए । प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले अहिलेसम्म करिब सात लाख सदस्यता वितरण गरिसकेको जानकारी दिए । पार्टी स्थापनाको एक वर्षका अवधिमा दुई लाखभन्दा बढी व्यक्ति पूर्णकालीन सदस्य तथा पाँच लाख साधारण सदस्य भएको उनले जनाए ।
पाँच हजार वडा विस्तार गरेको पार्टीले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा २७ प्रतिशत सिटमा उम्मेदवारी दिएको थियो । निर्वाचनमा नौ लाखभन्दा बढी मत प्राप्त भएको पार्टीले जनाएको छ । नेकपा (एमाले)को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै नेता तथा कार्यकर्ताको विद्रोहबाट पार्टीको जन्म भएको थियो ।

राष्ट्रपतिको भेटप्रति शंका
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरुलाई निवासमा बोलाएर डिनर गराउनुले शंका जन्माएको बताएका हुन् ।
उनले कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको बताए । अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीहरुको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको पनि बताए । उनले नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादी लगायतका शक्तिहरुको क्रियाशिलताको सम्बन्धमा पनि आफूहरुको नजर पुगिरहेको बताए ।
अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा आएको नतिजाप्रति गौरव बोध गर्नुपर्ने बताए । उनले २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाखभन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गरे । उनले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताए । अध्यक्ष नेपालले सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र संगठनलाई चलायमान बनाउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्