नारीमुक्तिको पर्व : तीज
नेपाली समाज क्रमश: रूपान्तरणको अवस्थामा छ । समाज रूपान्तरणका कारण कतिपय हाम्रा चालचलन, संस्कार पनि रूपान्तरित हुँदै छन् । रूपान्तरणसँगसँगै यसको महत्व र प्रभावकारितामा पनि वृद्धि भएको छ । तीज नेपाली हिन्दू नारीले मनाउने महान् पर्व हो । यसको आफ्नै मूल्य, मान्यता, महत्व रहेको छ । तर, तीज पर्वमा पनि पहिलेको जस्तो मौलिकता हिजोआज पाइन्न । तीजको व्यापक महत्व भएकाले धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिकोणले समेत तीजलाई विशिष्ट पर्व भनिन्छ । पौराणिक कथनअनुसार हिमालय पुत्री पार्वतीले श्रीमहादेव स्वामी पाऊँ भनी यो व्रत लिएकी थिइन् । कालान्तरमा त्यसलाई विवाहित र अविवाहित दुवै नारीले अनुसरण गरी मनाउन थाले र यसको महत्व झन् बढ्न पुग्यो । विवाहिताले आफू र आफ्नो श्रीमान्को आयु, आरोग्य, सुख, सौभाग्य तथा अविवाहितले सु–स्वास्थ्य, सफलता र असल स्वामी प्राप्त गर्ने कामनाले यस व्रत बसेको पाइन्छ । तर, पछिल्लो समयमा महिलाहरूले स्वयम् आफ्नो निरोगिता, सफलता र समृद्धिका लागि व्रत लिएको हो भन्ने भनाइ पनि आएको छ ।
तीजलाई आत्मीयता र सौहार्दको हार्दिक पर्व मानिन्छ । यसलाई सम्पूर्ण नारीले समानता र आत्मीयताको पर्वका रूपमा स्वीकार गर्नुपर्ने देखिन्छ । आफ्नो जन्मघर छाडेर टाढाटाढा पुगेका चेलीहरू यसबेला जम्मा भएर आफ्ना सङ्गीप्रति गरिने व्यवहार पक्कै पनि त्यो आत्मीयताको जीवन्त नमुना हो । महिला शोषणलाई निरुत्साहित गर्दै यो पर्व सासू, नन्द, जेठानी, देउरानी र आफ्नो लोग्नेको पीडा र यातनाले पीडित हुन पुगेका नारीहरूका लागि घाउ होइन, मल्हम बन्नुपर्छ, तब मात्र यस पर्वलाई मनाउनुको सान्दर्भिकता झल्कन्छ ।
यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ । तीजलाई खासगरी चेलीहरूको महान् पर्वका रूपमा लिइन्छ । ऋषिमुनिहरूको पूजा, अर्चना, उपवास, दान, जप, तप, मनोरञ्जन आदि गरी मनाइने यो पर्व परापूर्व कालदेखि चलिआएको पाइन्छ । तीज खासगरी तीन दिन मनाइन्छ । तीज पर्वको पहिलो दिनलाई दर खाने भनिन्छ । यस रात सबै चेली जम्मा भएर विभिन्न परिकार बनाई खाने गर्छन् । यसरी बनाई–तुल्याई गरी रातको मध्य समयमा खाइने परिकारलाई नै दर खाने भनिन्छ । दरमा खीर, सेल, रोटी, हलुवा, पुरी, फलफूल, विभिन्न मिठाई, मसला आदि पर्छन् । भोलिपल्ट निराहार बस्नुपर्ने परम्परा भएकाले यस रात ढिलासम्म दर खाने काम हुन्छ । हरितालिका अर्थात् तीजको दोस्रो दिनलाई निराहार व्रत बसेर चेलीहरूले विशेष श्रद्धाका रूपमा मनाउँछन् । यस दिन चेलीहरू नाचगान गरी भगवान् महादेव र पार्वतीको पूजा गर्छन् । रातो पहिरनमा सजिएर विभिन्न शिवालयमा जम्मा भई नाचगान गर्छन् । तीजका गीत गाउँछन्, नाच्छन्, रमाइलो गर्छन् । यस दिन निराहार बसेर आफ्नो व्रतलाई उनीहरू झन महत्व दिन्छन् ।
तीजको पर्सिपल्टको दिनलाई ऋषि पञ्चमी भनिन्छ । यस दिन खासगरी रजस्वला भइसकेका स्त्रीहरू आफ्नो पाप नष्ट होस् भनेर बिहानै नदी वा तलाउका किनारामा गई स्नान गर्छन् । ३ सय ६५ वटा दत्तिवनका टुक्रा टोकी माटो, सुन, कुश, पञ्चगव्यसहित विधिपूर्वक स्नान गरी सप्तऋषि अर्थात् अत्रि, कश्यप, भारद्वाज, विश्वामित्र, गौतम, वशिष्ठ र जमदग्निको पूजा गर्छन् । पूजाआजा सकेर उनीहरू एकछाक चोखो परिकार खान्छन् ।
तीजलाई महिला सशक्तीकरणको महान् पर्वका रूपमा पनि लिन सकिन्छ । तीजले नेपाली समाजमा नारीप्रति विद्यमान शोषण, दमनलाई हटाउने काम पनि गरेको छ । विभिन्न समयमा भएका राजनीतिक परिवर्तनपछि नारी चेतना र जागरणका लहर तीजका गीतमा प्रस्फुटन हुन पुगेका छन् । नारीले भोग्नुपरेका पीडा, यातना गीतका रूपमा व्यक्त गरी समाजमा नारीमुक्तिका लागि अग्रसर बनाउने र नारीलाई अग्रसर गराई आम परिवर्तनको चाहना राख्नेहरूले तीज पर्व र यसको महत्वलाई झनै प्राथमिकता दिनु आवश्यक छ । नारीमुक्तिका रूपमा तीजले महत्वपूर्ण भूमिका खेलेको छ । हाम्रो समाजमा नारीलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्नु आवश्यक छ । नारीलाई आधा आकाश हो भन्नेहरू नै नारी अधिकारका पक्षमा नदेखिनु अर्को विडम्वना हो । त्यसैले नारी मुक्तिको आवाज घन्काउँदै पुन: चेलीहरू एक भएर आफ्ना हक, अधिकारका पक्षमा अगाडि बढ्नु तीज पर्वको सान्दर्भिकता हो भन्न सकिन्छ ।