रेसुंगा विमानस्थलबाट नियमित उडानमा आशंका «

रेसुंगा विमानस्थलबाट नियमित उडानमा आशंका

गुल्मीको रेसुंगा विमानस्थलबाट नियमित उडान हुनेमा पछिल्लो समय आशंका थपिएको छ । जिल्लाको रेसुंगा नगरपालिका–१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलबाट नियमित उडान हुनेमा आशंका थपिएको हो ।
निर्माण सम्पन्न भइसकेको लामो समय हुँदा पनि सरोकारवालाको ध्यान नजानुले विमान उड्ने आश मरिसकेको स्थानीय गीता भण्डारीले गुनासो गरिन् । “संरचना तयार भएपछि विमान नियमित उडान हुनुपर्ने हो,” स्थानीय भण्डारीले भनिन्, “जहाज उड्ने धेरै आशा थियो, अब त आशा मरिसकेको छ ।” विमानस्थल पार्कको रूपमा परिणत भई हेर्ने र टिकटक बनाउनेमा सीमित भएको उनले बताइन् ।
राज्यको करोडौं लगानी बालुवामा पानी सरह भएको स्थानीय यादव पाण्डेले गुनासो गरे । “निर्माण सुरु भएपछि १५/१६ वर्ष निर्माणाधीन अवस्थामा भएकाले चित्त बुझाएर बस्यौं,” स्थानीय पाण्डेले भने, “विमानस्थल नियमित उडान हुनेमा आशंका थपिएको छ ।” नियमित उडान भएमा गुल्मीसँगै छिमेकी जिल्लालाई निकै ठूलो सेवासुविधा हुने उनले बताए ।
स्थानीय शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नहुने पिरलोमा छन् । चुनावी एजेण्डा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको स्थानीय पुनले गुनासो गरे । अर्का स्थानीय दिपक अर्यालले विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको आरोप लगाए । आर्थिक लगानीपछि बालुवामा पानी नभई नियमित सञ्चालन हुनुपर्ने अर्यालको भनाइ छ ।
आम गुल्मेली अहिले विमानस्थलबाट नियमित उडान नहुने आशंकामा छन् । वि.सं २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेको रेसुंगा विमानस्थल गत वैशाखमा निर्माण सम्पन्न भएको हो । जग्गा अधिग्रहण र बजेट अभावका कारण सुरुको करिब ७/८ वर्ष विमानस्थल निर्माणले गति लिन सकेको थिएन । त्यसपछि २०७२ सालबाट निर्माणको काम नियमित भएपछि विमानस्थलको भौतिक संरचना तयार भएको हो ।

विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले कच्ची उडान गरेको थियो । विमानस्थलको धावनमार्ग ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले विमानस्थलको भौतिक संरचना निर्माणको काम गरेका थिए । कुल ३५ करोड लागतमा रेसुंगा विमानस्थल भएको आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले बताए । शिलान्यासको समयदेखि जग्गा अधिग्रहण, विस्थापितलाई स्थापितदेखि तारजाली, धावनमार्ग, टर्मिनल भवन र कन्ट्रोल टावरलगायतका काममा उक्त रकम खर्च भएको हो । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विमानस्थल नियमित संचालन गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको बताए । “गुल्मेलीको भाग्य र भविष्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौं,” नगरप्रमुख पन्थीले भने, “नियमित उडानको प्रक्रिया अगाडि बढिसकेको छ ।” उनले गुल्मेली जनतालाई हवाई सेवा प्रदान गर्न आफू आतुर रहेको भन्दै मन्त्रालय र प्राधिकारणसँग सहमति भइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्