Logo

पुँजी वृद्धिको प्रतिस्पर्धामा मदिरा उद्योग

मुलुकमा एक वर्षदेखि वित्तीय संकट रहे पनि मदिरा उद्योगहरु भने यसमा अपवादजस्तै बनेका छन् । अन्य उद्योग वित्तीय संकटले थलिएका बेला मदिराजन्य उद्योगहरु भने क्षमता बढाउने प्रतिस्पर्धामा छन् । औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डबाट हालैमात्र आधा दर्जनभन्दा बढी मदिरा उद्योगले पुँजी वृद्धि तथा क्षमता विस्तार गर्न स्वीकृति लिएका छन् ।
साउन १९ गते बसेको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २ सय ३६ औं बैठकले बियर उत्पादन गर्ने साउथ एसियन ब्रुअरी प्रालिको अनुमतिको म्याद थपप्न स्वीकृति प्रदान गरेको छ । एसियन ब्रुअरीसँगै अरुणा डिष्टिलरी प्रालि, नेचुरल स्पिरिट्स प्रालिले पनि पुँजी वृद्धि तथा क्षमता विस्तार गर्न स्वीकृति पाएको छ । उद्योग विभागका अनुसार छिन्नमस्ता डिष्टिलरी प्रालि, न्यू एभरेष्ट डिष्टिलरी उद्योग प्रालि र यति डिष्टिलरीले पनि पुँजी तथा क्षमता विस्तार गर्न स्वीकृति पाएका छन् ।
मदिराजन्यमात्र नभई सुर्तीजन्य उद्योगको अवस्था पनि उस्तै छ । बोर्डको सोही बैठकबाट ग्रिन टोबाको कम्पनी प्रालि तथा सिमला सुर्ति प्याकिङ उद्योगले पुँजी तथा क्षमता विस्तार गर्न स्वीकृति पाएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पुँजी वृद्धि र क्षमता विस्तारका लागि प्रक्रिया पूरा गरेर लामो समयदेखि पर्खाइमा रहेका उद्योगलाई कानुनअनुसार अनुमति दिइएको बताए । “अहिलेको अवस्थामा नयाँ रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योगले क्षमता विस्तार गर्छु भन्दा हामीले रोक्ने कुरा भएन,” उनले भने । मुलुकमा लगानीयोग्य पुँजीको अभाव रहेका बेला क्षमता विस्तारले अर्थतन्त्रमा नयाँ आयाम थप्ने उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाहरुले विगत एक वर्षदेखि कर्जा प्रवाहमा कडाइ गरेका छन् । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कुल आन्तरिक कर्जा १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा २७.१ प्रतिशतले बढेको थियो । विगत एक वर्षमा बैंकहरुबाट कर्जा प्रवाहमा सुस्तता देखिएको उद्यमी प्रवलजंग पाण्डे बताउँछन् । उनका अनुसार राष्ट्र बैंकको नीतिको मारमा व्यवसायी परेका छन् ।
स्वदेशी मदिरा उद्योगले लगानी विस्तारै गर्दै गर्दा विदेशी ब्रान्डका रक्सी पनि नेपाल भित्रन छाडेका छैनन् । सरकारले विदेशी मदिरा आयातमा कडाइ गरे पनि बजारमा विदेशी ब्रान्डका रक्सीको दबदबा कायमै छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर महँगा मदिरासहित १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो ।

बक्समा
दर्जन क्रसर उद्योगलाई स्वीकृति

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अध्यक्ष रहेको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले एक दर्जन क्रसर उद्योगलाई स्थापनाको स्वीकृति दिएको छ । ढुंगा क्रसिङ गरी रोडा तथा गिट्टी उत्पादन गर्ने तथा बालुवा प्रशोधन गर्ने उद्देश्यसहित राम हनुमान क्रसर उद्योग प्रालि, अलपदेवी बालुवा प्रशोधन केन्द्र, ग्लोबल कंक्रिट इण्डष्ट्रिज प्रालि, शेरु एग्रिगेट प्रालिले स्वीकृति पाएका हुन् ।
यसैगरी नारायणी बालुवा प्रशोधन उद्योग, बडीमालिका क्रसर उद्योग, कंकालिनी बालुवा प्रशोधन तथा क्रसर उद्योग प्रालि, आश्रय अस्फाल्ट एण्ड क्रसर प्रालि, चन्द्र मैन वासिङ उद्योग, शिवम् क्रशर उद्योग, भगवती स्टोन मिल्स एग्रिगेट प्रालि र कान्तिपुर वासिङ उद्योगले पनि अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्