तीज भड्किलो र खर्चिलो नबनाऔं «

तीज भड्किलो र खर्चिलो नबनाऔं

चलचित्र कन्यादानको ‘तीजको रहर आयो बरिलै’ तीज गीत हरेक वर्षको तीजमा घन्किने गर्छ । यो गीत नबजेसम्म तीज आएझैं लाग्दैन । निकै पुरानो गीत भए पनि आजसम्म पनि उत्तिकै चर्चित बनेको छ । बर्सेनि स्रष्टाले तीजको अवसरमा निकै गीत बजारमा ल्याउने गर्छन् । हिजोआज बन्ने तीज गीतमा निकै अश्लील शब्द र उत्ताउलो भिडियोले गर्दा एउटा विशेष चाड फरक शैलीमा मनाउने क्रममा संस्कृति नै मासिँदै जान लागेको देख्न सकिन्छ । यस वर्ष सार्वजनिक भएको एक तीज गीतले पनि विवाद सिर्जना गरेको थियो । जसमा समाजलाई भड्काउने अपाच्य शब्दको प्रयोग भएको भन्दै श्रोताले आपत्ति जनाएका थिए ।
नेपाली हिन्दू नारीहरूका निमित्त महान् चाड हरितालिका तीज नजिकिँदै छ । यस वर्षको तीजको आधिकारिक तिथिमितिको दिन आउनु अगावैदेखि तीजको रौनक सुरु भइसकेको छ । हुन त अहिले मात्र होइन, पहिले पनि तीज आउनुभन्दा महिनौं अगाडिदेखि तीजका कार्यक्रम हुने गरेका थिए । कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिएपछि पछिल्ला वर्षहरूमा भने त्यति खुलेर नमनाएको तीज यो वर्ष भने चहलपहल बढेको छ । विगतका वर्षमा तीजका गीतसँगै सहरका हरेक पार्टी प्यालेस तीज कार्यक्रमले भरीभराउ हुने गर्थे । दर खाने बहानामा सामान्य रूपमा मनाउने यो पर्व अहिले भड्किलो र खर्चिलो बन्दै गइरहेको छ । हाम्रो संस्कृति मासिँदै जाने बाटोतर्फ हामी आफैं लगिरहेका छौं । हामीले त्योतर्फको बाटो बनाउँदै जाँदा भावी पुस्ताले हामीबाट के सिक्छन्, यतातर्फ पनि ध्यान दिन जरुरी छ ।
पहिले–पहिले विवाहित महिलाले दु:ख बिसाउने माध्यमका रूपमा मनाउने यस पर्वको अहिले रूपरंग नै फेरिएको छ । पहिले गाउँमा विवाह गरेर टाढा–टाढा दिने प्रचलन थियो, आफ्ना पारिवारिक सदस्यसँग पनि भेटघाट गर्न कठिन हुने गथ्र्याे । सँगै हुर्केबढेका साथीसंगीहरूलाई भेट्न मुस्किल थियो । सञ्चारका साधन थिएनन्, घरधन्दामै समय बिताउनुपथ्र्यो । तर, तीजमा भने छोरीचेली माइत आउने, घरका सारा काम छोडी माइतमा रमाउने, साथीसंगीसँग घुलमिल गर्ने, आफ्ना दु:खपीडा बिर्सेर गीतको माध्यमबाट रमाउने, व्यक्त गर्ने, परिवारसँग बसेर दर खाने, पतिको दीर्घायुको कामना गर्दै महादेवको आराधना गर्ने प्रचलन अहिले ठ्याक्कै उल्टो बनेको छ । तीज आउनु महिना दिन अगाडिदेखि के गर्ने, कसकोमा बस्ने, के खाने, कुन गीत बजाउने भन्दै झुम्ने प्रवृत्तिको विकास हुँदै गइरहेको छ । महिला–महिला जम्मा हुँदै माछामासुको स्वादमा, मदिराले लट्ठिँदै गर्दा तीजको मौलिकता मासिँदै गइरहेको आभास हुन्छ ।
यस्ता देखावटी क्रियाकलाप गर्दै जाँदा समाजमा अराजकता फैलिने स्पष्ट छ । पल्लाघरे साहिँलीले हिजो बोला’की थिई, आज माख्लो घरको काइँलीकोमा जानु छ अनि भोलि त मेरोमा पालो भन्दै दरका नाममा भोजमै विकृति मौलाउँदै गएको छ । झन् अर्को प्रमुख देखावटी भने गरगहनामा फलानो र तिलानो त त्यस्तो छ भन्दै देखासिकीले पर्वलाई भड्किलो बनाउँदै गइरहेको छ । यो समाजका लागि नकारात्मक पक्ष हो । यसले संस्कृति संरक्षण हुनुको सट्टा उल्टै नासिँदै जाने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्