पहिरो पीडितलाई गोलाप्रथाद्वारा जग्गा बाँडफाँट

संखुवासभाको शिलिचोङ्गमा पहिरोमा परी विस्थापित भएका ९२ परिवारमध्ये ५५ परिवारलाई गोलाप्रथाद्वारा जग्गा वितरण गरिएको छ ।
२७ असार २०७७ राति परेको अविरल वर्षात्का कारण सिलिचोङ्ग–१ बेसिन्दा र चेप्चेवामा पहिरो जाँदा ११ जना बेपत्ता हुनुका साथै ९२ परिवार घरबारविहीन भएका थिए । उनीहरूलाई खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा एक करोड ३० लाखमा ६९ रोपनी जग्गा खरिद गरी स्थानान्तरण गरिएको हो ।
बिहीबार जिल्ला विपद व्यवस्थापन समिति, शिलिचोङ्ग गाउँपालिका र खाँदबारी नगरपालिकाले संयुक्त रूपमा उनीहरूलाई गोलाप्रथा गरी जग्गा वितरण गरेको विपद् व्यवस्थापन समिति संखुवासभाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । त्यस्तै बाँकी ३७ विस्थापित परिवारको स्थानान्तरणका लागि सिलिचोङ्गको चित्रे र बखल्टुममा जग्गा खरिद गरिएको छ ।
विस्थापितमध्ये बेसिन्दा गाउँका २५ परिवारलाई सिलिचोङ्गको चित्रे गाउँ र चेप्चेवाका १२ घरधुरीलाई बखल्टुममा खरिद गरिएको जग्गामा स्थानान्तरण गर्ने तयारी छ । पहिरोबाट विस्थापितलाई व्यवस्थापन गर्नका लागि चित्रेमा ५२ रोपनी जग्गा ३४ लाखमा खरिद गरी विस्थापितको नाममा संयुक्त रूपमा रजिस्ट्रेसन पास गरिसकिएको र चाँडै नै उक्त जग्गा बाँडफाँट गर्ने प्रकृया सुरु गरिने सिलिचोङ्ग गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए ।
२९ फागुनमा जिल्ला विपद् व्यवस्थापन समितिले संघ प्रदेश र स्थानीय सरकारबाट समेत सहयोग जुटाई उक्त जग्गा खरिद गरेका थिए । २७ असार २०७७ को पहिरोमा परी हराइरहेका ११ जना अझै बेपत्ता छन् ।