‘प्राधिकरणले ३ अर्ब उठाइछाड्छ’ «

‘प्राधिकरणले ३ अर्ब उठाइछाड्छ’

बारा-नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरबाट मात्रै करिब ३ अर्ब बक्यौता उठाउनुपर्ने देखिएको छ । उद्योगी र प्राधिकरणबीचको विवादका कारण समयमै यो रकम असुल हुन नसक्दा बक्यौता नै जोखिममा समेत परेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस क्षेत्रका उद्योगको बक्यौता कानुनसम्मत देखिए असुल गरिछाड्ने बताएका छन् । आइतबार सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा घिसिङले ठूला उद्योगहरूले प्रयोग गरिरहेको ट्रंक लाइनका सम्बन्धमा स्वीकृति नै नलिई २४ सै घण्टा विद्युत् आपूर्ति हुँदाको अवस्थामो सो अवधिको महशुल तिर्नुपर्छ भनिएको बताए । “अहिले बजारमा हल्ला चलेजस्तो उद्योगले महशुल नै नबुझाएको होइन, लोडसेडिङका बखत स्वीकृति नलिई २४ सै घण्टा विद्युत् आपूर्ति भएको समयको महशुलको मात्र कुरा हो,” घिसिङले भने ।
बाराको जगदम्बा स्टिल, सूर्य नेपाल, हामा आइरन, अशोक स्टिललगायतका ठूला उद्योगहरूले लोड सेडिङका समयमा ट्रंकलाइनका सम्बन्धमा स्वीकृति नलिइ २४ घण्टा विद्युत् आपूर्ति गरेकाले उक्त रकम तिनुपर्ने प्राधिकरणको जोड छ ।
उद्योगीहरूले भने लोड सेडिङका समय आफूहरूले ट्रंकंलाइनबाट बिजुली आपूर्ति गरे पनि आफ्ना उद्योगमा लोडसेडिङ भएकोले जेनेटरबाट सञ्चालन गर्नुपर्ने बाध्यता बनेको बताएका छन् ।
“नीतिगत अभावका कारण विद्युत् प्राधिकरणको ३ अर्ब जोखिममा पर्ने देखिए पनि हामी थप अनुसन्धान गर्दैछौं, लोड सेडिङका समयमा विद्युत् प्रयोग गरेका सबै उद्योगले ढिलोचाँडो महशुल बुझाउनैपर्छ,” उनले भने ।
बारा–पर्साका उद्योगीहरूले भने नीतिगत अस्पष्टता र लोड सेडिङका समयमा उद्योगले प्राधिकरणले दाबी गरेअनुसार विद्युत् आपूर्ति नगरेको जनाउँदै अदालतमा मुद्दा दायर गरेका छन्, यसको फैसला भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्