Logo

विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा

सरकारले विराटनगर र सिमरामा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच ती दुवै ठाउँहरुमा स्थापना गरिएको शाखा कार्यालयहरुको उद्घाटन गरेका छन् । संघीयताको मर्म अनुसार सामाजिक सुरक्षा कोषलाई गतिशील बनाउनका लागि सो कार्यालयको स्थापना र सेवा शुभारम्भ पनि गरिएको मन्त्री कुँवरले बताए । उनले सो कोषमा आवद्ध हुन पनि सबै रोजगारदाता र योगदानकर्ताहरुलाई आग्रह गरे ।
सामाजिक सुरक्षा कोषमा आवद्ध नभएकाहरुलाई सरकारले कानुनी दायरामा ल्याएरै छाड्ने मन्त्री कुँवरको भनाइ छ । “संघीयताको मर्म अनुसार दुई वटा शाखा कार्यालय विस्तार गरिएको हो । र, यो आवश्यक्ता अनुसार विस्तार गर्दै लगिनेछ” उनले भने, “रोजगार दाताहरुलाई योगदानकर्ताहरुलाई आग्रह गर्न चाहन्छु–सामाजिक सुरक्षा कोषमा आवद्ध होउ । कतिपय रोजगार दाताहरु, कतिपय घोषित क्षेत्रहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको हामीले देखेका छौं ।”
मन्त्री कुँवरले योगदानकर्ता र रोजगारदाताको सेवालाई सहज बनाउनका लागि सरकारले आवश्यक अनुसार देशका अन्य जिल्लाहरुमा पनि सामाजिक सुरक्षा कोषको शाखा कार्यालय स्थापना गर्ने योजना तय गरेको बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रमिकहरुको नजिक रहेर सेवा प्रदान गर्नका लागि कोषको २ वटा शाखा कार्यालय स्थापना गरिएको बताए । उनले नेपालगञ्ज र वुटवलमा पनि कोषको सम्पर्क कार्यालय स्थापना गरी सेवा शुभारम्भ गर्ने निर्णय गरिएको जानकारी दिए ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषको कामलाई प्रभावकारी बनाउने गरी शाखा कार्यालय खोल्ने व्यवस्था गरिदिएकोमा मन्त्री कुँवर र सचिव अर्यालप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्