पुलको लोड परीक्षण गर्न दुई राजमार्ग अवरुद्ध

पुलको भार क्षमता परीक्षणका लागि कर्णाली राजमार्गका दुई ठाउँमा अवरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि ३६ घण्टा राजमार्ग अवरुद्ध गर्न लागिएको हो ।
कर्णाली राजमार्गअन्तर्गतको दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कर्णाली करिडोरको कालिकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको लोड क्षमता जाँच गर्नका लागि ३६ घण्टा कर्णाली राजमार्ग अवरुद्ध हुने भएको छ । जसअन्तर्गत राजगमार्गको घट्टेखोलामा बनेको पक्की पुलको भार क्षमता जाँच गर्न मंगलबार बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द भएको सडक डिभिजन जुम्लाका निमित्त कार्यालय प्रमुख वीरेन्द्र रावलले बताए ।
उनका अनुसार कालिकोट, दैलेख, जुम्ला र मुगु जिल्लामा सूचना जारी गरेर सडक अवरुद्धबारे नागरिकलाई सूचित गराइएको छ । पुलको अनिवार्य रूपमा लोड क्षमताको परीक्षण गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको हो । मंगलबार बिहानदेखि कर्णाली राजमार्गस्थित घट्टेखोला पुलको भार परीक्षण भइरहेको छ ।
त्यस्तै कर्णाली करिडोरअन्तरर्गत कर्णाली नदीमाथि बनेको पुलकको लोड परीक्षणका लागि लागि ९ भदौ बिहीबार बिहान ६ बजेदेखि ३६ घण्टा राजमार्ग बन्द रहने सडक डिभिजन जुम्लाले जनाकारी दिएको छ । प्राविधिक रूपले पुलको भार क्षमता जाँच गर्नुपर्ने व्यवस्था छ । पक्की पुल टेस्टिङको समयमा कर्णाली राजमार्गको दुवैतर्फको आवतजावत बन्द रहने र यात्रु सवारी साधनलाई आवतजावतका लागि त्यहीअनुसार व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ ।
“ठूला क्षमताका सवारी गुड्न थालेपछि दुर्घटनाको जोखिम छ,” निमित्त प्रमुख रावलले भने, “प्राविधिक दृष्टिले पनि पुलको भार जाँच्न जरुरी देखिएपछि छुट्टाछुट्टै समयमा ३६/३६ घण्टा कर्णाली राजमार्ग र कर्णाली करिडोर बन्द गरेका हांै ।