१३० भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाई आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरु गरिसकेको बताएकी छन् ।
कैलालाीको लम्कीचुहा नगरपालिका–३ को वादी बस्तीमा १ सय ३० भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाँझो जमिनको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरु गरेको बताइन् ।
मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको हक अधिकार स्थापित गर्र्न भूमिहीनलाई भूमि वितरणको काम गरिरहेको बताइन् ।
मन्त्री श्रेष्ठले मुक्तहलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदनअनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुन:स्थापना कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताइन् ।
नागरिकलाई रोजगारीको सिर्जना गर्न योजना बनाइसकेकोे र रोजगारी खोज्न बाहिर हिड्नु नपर्ने गरी काम गर्न सरकार प्रतिबद्ध भएर लागेको पनि मन्त्री श्रेष्ठको दाबी थियो ।
उनले भूमिहीनलाई लालपुर्जा वितरणको काम अभियानको रूपमा अगाडि बढाइएको र हालसम्म गाउँब्लकमा ५० हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण गरेर कानुनी रूपमा जग्गाको मालिक बनाइएको बताइन् ।
मन्त्री श्रेष्ठले यही वर्षभित्र तीन सय पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालयले सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिनेगरी काम गरिरहेको पनि बताइन् ।
उनले २०४९ सालभन्दा अगाडि विभिन्न साझा संस्थामा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीहरूको ऋण मोचन गर्न अफू लागि परेको पनि बताइन् ।