Logo

डिप्रेसनबाट यसरी बचौं

पछिल्लो समयको अध्ययनअनुसार मुलुकभित्र मात्र नभएर मुलुकबाहिर पनि धेरै मानिस डिप्रेसनको सिकार भएका छन् । नेपालमा दिनहुँ डिप्रेसनका बिरामीहरू अस्पतालमा आएर जँचाएर औषधि सेवन गरिरहेका भटिन्छन् । पहिले–पहिले वृद्ध बा–आमाहरूलाई शारीरिक तथा मानसिक कमजोरी र विभिन्न रोगको सिकारको आक्रमणले गर्दा छिटै डिप्रेसन हुने गरेको देखिन्थ्यो । तर, पछिल्लो समय मानिसहरूको खानपान, बसाइँसराइ, आर्थिक क्रियाकलाप तथा पारिवारिक कलहका कारणले धेरै युवामा डिप्रेसनको सिकार भएको देखिन्छ ।
के हो डिप्रेसन ?
डिप्र्रेसन भनेको एक प्रकारको मानसिक रोग हो । एकान्तमा बस्न खोज्नु, एकोहोरो टोलाउनु, एक्कासि झस्किरहनु, थकान तथा कार्यव्यस्तताको कारण मस्तिष्कमा तनाव बढ्नु, साथीभाइ, आफन्त तथा परिवारबाट टाढा हुनु आदि डिप्रेसनका लक्षणहरू हुन् । कहिलेकाहीँ कुनै शब्द बोल्दा वा कसैसँग कुराकानी गर्दा चाहिनेभन्दा बढी बोल्दै जानु र बोलेका शब्दको टुङ्गो नहुनु पनि डिप्रेसनको लक्षण हो । यही डिप्रेसनको सिकार भएका छन् अहिलेका युवायुवतीहरू ।
धेरै आर्थिक कारोबार गरिरहेको अवस्थामा एक्कासि व्यक्तिगत दैनिक अर्थतन्त्रमा गिरावट आई चलायमान हुन नसक्नु र के गरौं कसो गरौं भन्ने अवस्थामा आउनु पनि डिप्रेसन हो । तर, मुलुकमा यस्ता प्रकारका डिप्रेसन धेरै युवायुवतीहरूमा देख्न थालिसकेको छ । कतिले त अस्पतालमा गएर पारिवारिक सल्लाहबिना जँचाएर परिवारका सदस्यहरूले पनि थाहा नपाउने गरी औषधि सेवन गरिरहेका हुन्छन् । कसैले डिप्रेसनले धेरै असर गर्न थालेपछि पारिवारिक सल्लाहअनुसार पनि औषधि सेवन गरिरहेका छन् । धेरै डिप्रेसनको सिकार हुनेमा परिवारका दम्पतीबीच हुने गरेको बेमेल भएको एक अध्ययनले देखाएको छ । त्यसपछि बेसहारा भएका परिवारका सदस्यहरूमा डिप्रेसन भएको छ । त्यसपछि भने समाजमा कसैसँग घुलमिल नभएको र एकान्तमा मात्र बस्न रुचाउने युवाहरू डिप्रेसनको सिकार भएका छन् । डिप्रेसनले धनी–गरिब त भन्दैन, तर दैनिक जीवनलाई मस्तिष्कमा तनावमुक्त गरेमा भने डिप्रेसनबाट छुट्कारा पाउन अवश्य सकिन्छ । डिप्रेसनबाट छुट्कारा पाउन निम्न तरिकाहरू अपनाउन सकिन्छ :
१. यसबाट बच्न सर्वप्रथम त भौतिक तथा बाहिरी वातावरणबाट सकेसम्म समस्याको समाधानतर्फ लाग्नुपर्छ । केही सीप नलागे मात्र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।
२. अनावश्यक खर्चभन्दा पनि दैनिक जीवनमा समान रूपमा खर्च गर्दै जानुपर्छ ।
३. पारिवारिक जीवनमा सबैसँग घुलमिल गर्नुपर्छ । दु:खसुख एकआपसमा साटासाट गर्नुपर्छ ।
४. धूम्रपान, मद्यपानजस्ता कुलतबाट सधैं टाढा रहनुपर्छ ।
५. कार्यालयमा छँदा तनावमुक्त वातावरणमा कार्य गर्ने । यदि आर्थिक कारोबारको काम छ भने बिस्तारै गर्ने तर सही तरिकाले गर्ने । मिटिङमा प्रस्तुत हुँदा सबैसँग सौहार्द वातावरणमा मिटिङ सम्पन्न गर्ने ।
६. बेसहारा भएका मानिसहरूलाई तनाव नदिने, नहोच्याउने, माया र सद्भावपूर्ण वातावरण कायम गर्ने ।
७. समाज, परिवार, आफन्त अनि साथीभाइहरूसँग घुलमिल हुने ।
८. अनावश्यक कुरालाई मस्तिष्कमा नराख्ने । राम्रा कुराहरू मात्र ग्रहण गर्ने ।
९. आफ्नो पार्टनरको सम्बन्ध मजबुत बनाउने ।
१०. कार्यव्यस्तताको समयपछि केही समय गीत–संगीतलाई पनि केही समय छुट्ट्याउने ।
११. खानपिनमा निकै सचेत हुने । समयमा नै खाने, समयमा नै आराम गर्ने, समयमा नै शारीरिक व्यायाम गर्ने । केही नलागे मात्र चिकित्सकहरूको सल्लाहअनुसार औषधि सेवन गर्ने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्