असोज पहिलो साता माउण्ट एभरेष्ट तेक्वान्दो सुरु

नेपाल तेक्वान्दो संघको आयोजनामा तेस्रो माउण्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (विश्व वरीयता जी–२) असोज पहिलो साता हुने भएको छ ।
नेपाल तेक्वान्दो संघले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । असोज ६ गतेदेखि ९ गतेसम्म जी–२ लाई विश्व तेक्वान्दो महासंघले मान्यता प्रदान गरेको आयोजकले जनाएको छ । जी २ प्रतियोगिताअन्तर्गत जुनियर विधामा असोज सात गते र सिनियर विधामा आठ गते र ९ गते हुनेछ । प्रतियोगितामा सिनियर पुरुष, महिला र जुनियर पुरुष, महिलामा आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजीमुनि र ८७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै सिनियर महिलामा ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजीमुनि र ७३ केजीमाथिका स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यस्तै, जुनियर पुरुषमा ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी, ५९ केजी, ६३ केजी, ६८ केजी र ७३ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा हुनेछ । जुनियर महिलामा ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी, ५९ केजी र ६३ केजी तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो ।
प्रतियोगितामा दक्षिण एसियाका सात देशसँगै अमेरिका, मलेसिया, इन्डोनेसिया, हङकङ लगायताका देशबाट खेलाडीले सहभागिता रहने आयोजकले अनुमान रहेको छ । प्रतियोगितामा एक हजारभन्दा धेरै खेलाडीहरूको सहभागिता रहने र यसमा करिब २ करोड ५० लाख खर्च हुने छ । यस्तै, नेपाल तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा हुने प्रथम माउण्ट एभरेष्ट जिसिएस इन्टरनेसनल ओपन पुम्से तेक्वान्दो च्याम्पियनसिप ६ गते हुनेछ । दुवै प्रतियोगिता पोखरास्थित बहुउद्देस्यीय कभर्डहलमा हुनेछ ।