दक्षिण कोरियामा इन्टरनेट प्रयोगकर्ता ९० प्रतिशत

गत वर्ष दक्षिण कोरियामा १० मध्ये ९ ले इन्टरनेटको प्रयोग गरेको सर्भेले देखाएको छ । इन्टरनेट प्रयोगको औसत समयमा पनि वृद्धि भइरहेको छ ।
विज्ञान प्रविधि मन्त्रालयले २५ हजार घरधुरीको ६२ हजार ५ सय ४० व्यक्तिमाझ गरिएको सर्भेले ९०.३ प्रतिशत दक्षिण कोरियालीले इन्टरनेट प्रयोग गरेको देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशत बिन्दुले बढी हो । गत वर्ष इन्टरनेट प्रयोग गरेका जो–कोहीलाई पनि सर्भेमा प्रयोगकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।
घरधुरीको मामिलामा दक्षिण कोरियाको इन्टरनेट प्रयोगको दर ९९.५ प्रतिशत पुगेको छ । यो अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनमा सदस्य रहेका १ सय ७५ सदस्य राष्ट्रमध्येकै उच्च हो ।
सहभागीहरूले किनमेल, सामाजिक सञ्चारमाध्यमको सेवा र अनलाइन बैंकिङका लागि इन्टनरनेट प्रयोग गरेको बताएका छन् ।
दक्षिण कोरियालीले एक सातामा औसत १५.७ घण्टा इन्टरनेटको प्रयोग गरेका छन् । ९७.९ प्रतिशतभन्दा बढीले प्रति साता १ भन्दा बढी पटक इन्टरनेटको प्रयोग गरेका छन् ।
इन्टरनेटको औसत साप्ताहिक प्रयोगको अवस्थामा पनि २०१५ को १३.६ घण्टाबाट २०१६ मा १४.३ घण्टा पुगेको सर्भेले देखाएको छ ।
६ वर्षभन्दा बढी उमेरका ९५.१ प्रतिशतले इन्सट्यान्ट म्यासेजिङ सर्भिसका लागि इन्टरनेट प्रयोग गरेको सर्भेले देखाएको छ । यसको ६८.२ प्रतिशतले एसएनएसको प्रयोग गरेका छन् ।