सिटिजन्स बैंकले लकर सेवा शुल्कमा छुट दिने

सिटिजन्स बैंक इन्टरनेसनलले लकर सेवा शुल्कमा आकर्षक छुटसहितको योजना सार्वजनिक गरेको छ ।
महिलालाई लक्षित गर्दै बैंकले हरितालिका तीज र भदौ महिनामा पर्ने विभिन्न पर्वहरूको अवसरमा उक्त छुटको योजना सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत बैंकले भदौ महिना भरी लकर शुल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताएको छ ।
यस्ता छुट सुविधा बैंकको लकर सेवा उपलब्ध हुने शाखाबाट प्राप्त गर्न सकिने बताइएको छ । यस सुविधाबापत ग्राहकले आफ्ना गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरू सहज र सुपथ शुल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने बैंकले बताएको छ ।
बैंकले ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायले यसअघि नै कियोस्क, इकेवाइसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधाको सुरुवात गरिसकेको छ ।