Logo

सञ्चार मन्त्रालयले उठायो साढे सात अर्ब राजस्व

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९मा ७ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको जनाएको छ ।
मन्त्रालय र सम्वद्ध निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन भएका प्रमुख उपलब्धीमार्फत सो राजस्व संकलन भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले मन्त्रालय र अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा कुल राजस्व ७ अर्ब ६० करोड ७२ लाख ५३ हजार रुपैयाँ संकलन भएको बताए ।
मन्त्री कार्कीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको बताए । उनले आव २०७८/०७९ मा कुल बजेटको ८०.६१ प्रतिशत खर्च भएको जानकारी दिए ।
मन्त्री कार्कीले सूचना तथा प्रशारण विभागबाट प्रदान गरिने कार्यहरु पूर्णरुपमा अनलाइनमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको पनि बताए । उनले नागरिक एपको स्तरोन्नति गर्दै ४५ सेवालाई यस एपमा आवद्ध गरिएको जानकारी दिए । चलचित्र क्षेत्रलाई गतिशील बनाउन सिनेमा, स्टोरी बैंक, सातै प्रदेशमा छायांकन स्थल र विकासलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ छ । त्यस्तै, वरिष्ठ चलचित्र कलाकारको सम्मानका लागि चलचित्रकर्मी परिचयपत्र तथा बिमा कार्यक्रम सुरु गरिएको उनले बताए ।
मन्त्री कार्कीले सुरक्षण मुद्रणका लागि आवश्यक उपकरणसहितको मेसिन खरिद गरी जडान गरिएको र यसै आर्थिक वर्षबाट मुद्रण कार्य प्रारम्भ हुने बताए । उनले ७३५ स्थानीय तहमा फोरजी सेवा बिस्तार भएको र हालसम्म १२ हजार २२४ किलोमिटर अप्टिकल फाइबर बिस्तार गरिएको पनि बताए । उनले कुल जनसंख्याको ९१ प्रतिशतमा रेडियो नेपालको पहुँच र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्