रेसुंगा क्याम्पसलाई वार्षिक एक करोड २९ लाख ऋणभार «

रेसुंगा क्याम्पसलाई वार्षिक एक करोड २९ लाख ऋणभार

गुल्मीको एक क्याम्पसलाई हरेक वर्ष झन्डै डेढ करोड ऋणको भार थपिँदै गएको छ । जिल्लाकै शैक्षिक धरोहर भनिएको सदरमुकाम तम्घासस्थित रेसुंगा बहुमुखी क्याम्पसलाई हरेक वर्ष १ करोड २९ लाख ऋणको भार थपिँदै गएको हो ।
विद्यार्थीबाट वार्षिक रूपमा हुने आम्दानीभन्दा प्राध्यापक र कर्मचारीको तलबमा मात्र झन्डै दोब्बर खर्च हुने गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । “प्राध्यापक र कर्मचारी राजनीतिक बाँडफाँटबाट आवश्यकभन्दा बढी नियुक्त भएका छन्,” सञ्चालक समितिका अध्यक्ष भलामीले भने, “विद्यार्थीको संख्यामा कमी हुँदा आम्दानीको स्रोत बन्द भएपछि हरेक वर्ष झन्डै डेढ करोडभन्दा बढी ऋणको भार थपिएको हो ।” उनले आफ्नो नेतृत्वमा सञ्चालक समिति बनेपछि मात्र क्याम्पस आर्थिक रूपमा धराशायी बनेको जानकारी पाएको बताएका छन् ।
शिक्षा, विज्ञान, मानविकी र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर अध्ययन–अध्यापन हुने रेसुंगा बहुुमुखी क्याम्पसमा अहिले ७ सय ७ जना जना विद्यार्थी छन् । क्याम्पसमा प्राध्यापक र कर्मचारी गरेर ४० जना रहेका छन् । क्याम्पसमा प्राध्यापक र कर्मचारीको उपचार, उपदान र अन्य सेवा–सुविधाबाहेक मात्रै तलबमा आम्दानीभन्दा १ करोड २९ लाख बढी खर्च भइरहेको क्याम्पसले जनाएको छ ।
क्याम्पसमा अहिले आम्दानी कोषतर्फ उपचार र उपदान कोषमा जम्मा २३ लाख ५० हजार, लगानीतर्फ १ करोड १० लाख ५० हजार र क्याम्पस सञ्चालन खातामा मात्र ३० लाख रुपैयाँ रहेको छ । यी क्याम्पसका विभिन्न कोषमा रहेको रकम र वार्षिक रूपमा थपिने ऋणबाहेक क्याम्पसमा अहिले ५ करोड ८३ लाख रुपैयाँ ऋण रहेको छ ।
क्याम्पसमा भारी मात्रामा रहेका प्राध्यापक र कर्मचारी कटौती गर्न नीति–नियमले नदिने अनि ऋण कम गर्न कटौतीबाहेकको उपाय नभएपछि क्याम्पसमा केही दिनअघि संकटकाल घोषणा गरिएको छ । क्याम्पसलाई आर्थिक रूपमा धराशायी हुनबाट बचाउन आर्थिक संकटकाल घोषणा गरिएको सञ्चालक समिति अध्यक्ष भलामीले जानकारी दिए ।
संकटकालपछि कानुनी अड्चन हट्ने भएकाले समस्या समाधानको विकल्पका रूपमा आर्थिक संकटकाल भनिएको अध्यक्ष भलामीले बताए । यही महिनाको अन्तिमसम्म क्याम्पसमा प्राध्यापक कटौती र आर्थिक स्रोत जुटाएर संकटकाल फुकुवा हुने भलामीले दाबी गरे ।
क्याम्पस प्रमुख प्राध्यापक हरि खत्रीले सञ्चालक समितिको निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका छन् । “आठ महिनाको मासिक तलब प्राध्यापक तथा कर्मचारीलाई दिलाउन सकिएको छैन,” क्याम्पस प्रमुख खत्रीले भने, “क्याम्पसको आर्थिक स्थिति सञ्चालक समितिलाई जानकारी गराएपछि समितिले संकटकाल घोषणा गरेको हो ।” उनले सञ्चालक समितिको निर्णय कार्यान्वयनमा आफूहरू तत्काल जाने बताएका छन् ।

विद्यार्थी चिन्तित
रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक तहको प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थी अनुप सुनारले क्याम्पस रहने वा नरहने कुरामा आफूहरू चिन्तित रहेको बताए । आन्तरिक रूपमा सल्लाह गरेर समाधान खोजिनुको सट्टा एक्कासि क्याम्पसमा संकटकाल भनिनुले अब विद्यार्थी क्याम्पसमा अध्ययनका लागि आउने सम्भावना कम रहेको विद्यार्थी सुनारले बताए । विद्यार्थी नआउँदा क्याम्पस ढल्ने अवस्थामा पुग्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।
क्याम्पसका अर्का विद्यार्थी शिव भण्डारीले क्याम्पसमा भर्नाको समय नजिक आउँदा संकटकाल भनिनु गलत भएको बताए । उनले विद्यार्थीको संख्यामा झन् कमी हुने भन्दै चिन्ता व्यक्त गरे । भर्ना हुनेभन्दा क्याम्पस छाड्ने विद्यार्थी बढी भएको प्रति क्याम्पसले ध्यान नदिएको तर संकटकाल भनेर उम्किएको विद्यार्थी करिश्मा विकले गुनासो व्यक्त गरिन् ।

नगरपालिकाको ५० लाख सहयोग
जिल्लाको रेसुंगा नगरपालिकाकाले यसपटक क्याम्पसका लागि ५० हजार बजेट विनियोजन गरेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । “क्याम्पसमा अहिले आर्थिक जटिलता उत्पन्न भएको छ,” नगरप्रमुख पन्थीले भने, “हामीले क्याम्पसको समस्यालाई दीर्घकालीन समाधान खोज्न लागेका छौं ।” तत्कालका लागि क्याम्पसलाई थोरै भए पनि आर्थिक सहयोग गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्