Logo

कृष्ण जन्माष्टमीप्रतिको आस्था र बढ्दो लोकप्रियता

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्छ । यस वर्ष भने भदौ ३ गते शुक्रबारको दिनमा कृष्ण जन्माष्टमी परेको थियो । हाम्रो देशमा अधिकांश मानिस हिन्दू धर्मावलम्बी भएकाले त्यस दिन विशेष विधिविधानसहित श्रद्धालु भक्तजनहरू स्नान गरी व्रत बस्ने, पूजा–आराधना गरी चोखो तथा शुद्ध भोजन ग्रहण गर्ने गर्छन् । त्यस दिन विशेष गरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । उक्त दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाली श्रीकृष्णको विभिन्न रूप दर्साएको सचित्र झुला झुलाउने चलन छ । दिनभरि निराहार रहेर भगवान्को नाम जप्नुका साथै गीता, भागवत् आदि पाठ गर्छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानी कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गरी प्रसाद ग्रहण गरेपछि व्रत पूर्ण भएको मानिन्छ । यस प्रकार हिन्दूहरूको महान् पर्व श्रीकृष्ण जन्माष्टमीले भगवान्को प्रिय बन्नका लागि सदा धर्मको पालना गर्नुपर्ने सन्देश दिन्छ । यसका साथै मन, वचन र कर्म पवित्र राख्नुपर्ने पनि सन्देश दिन्छ । यस्ता पर्वहरूलाई रमझमको रूपमा मात्र नहेरी यिनको मर्म बुझी सत्कर्म गर्न सके सबैको कल्याण, विश्वमा समता, शान्ति र अहिंसाको सुवास फैलिनेछ भन्ने पौराणिक मान्यता रहेको छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्छ । जन्माष्टमीको दिनमा यहाँ राष्ट्रपतिसमेत दर्शनका लागि जाने प्रचलन छ ।
यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण मन्दिरमा पनि भक्तजनहरूको भीड लाग्ने गर्छ । पौराणिक कथनअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । त्यसैले द्वापरयुगदेखि नै श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गोकुलका गोपिनीहरूले श्रीकृष्णको नामकरणका दिन विशेष नाचगान गर्थे । त्यो परम्परा भगवान् शिवजीलाई प्राप्त गर्न पार्वतीले गरेको व्रतोपासनसँग जोडिएर हरितालिका तीज पर्वका रूपमा रूपान्तरित हुन पुगेको भन्ने मान्यता रहेको छ ।
अहिलेको परिप्रेक्ष्यमा यस्ता धार्मिक पर्वहरूलाई निकै धूमधामका साथ मनाइन्छ । पर्व नजिकिनेबित्तिकै बजारभरि पहेंलो मिश्रित रंगको कृष्ण र राधाले लगाउने पोसाक, भगवान्का तस्बिरहरू, साथै वस्त्रअनुसारका गहनाहरू, मयूरको प्वाख, बाँसुरी जस्ता सामग्रीहरू सर्वत्र रूपमा पाइने गरिन्छ । त्यसमाथि आफ्नो कला–संस्कृतिलाई प्राथमिकता दिँदै विद्यालयहरूले साना नानीबाबुलाई पहेंलो रंगको सांस्कृतिक पोसाक लगाएर आउन अनुरोध गर्नुका साथै नाचगान गर्ने, कृष्ण लीलावाचन गरी पौराणिक मान्यताहरू बताउने गर्छन्, जसलाई आर्थिक र सांस्कृतिक हिसाबले एकदम राम्रो पक्ष मानिन्छ । यसरी उपभोक्ताद्वारा यस्ता सामग्रीहरूको माग हुनु र अत्यधिक उपभोग हुनुले राष्ट्रको आर्थिक पक्ष सबल हुनुका साथै यसले देशको मूल्य–मान्यतालाई पनि जोगाउने गर्छ । उक्त दिन प्रत्येक कृष्ण मन्दिरहरूको आसपासमा मेला लाग्ने गर्छ । त्यही अवसरको मौका छोपी व्यापारीहरूले आफ्ना सामानहरूको प्रदर्शनी गर्ने गर्छन् । त्यति मात्रै नभएर बजारमा यति धेरै प्रतिस्पर्धा हुने गर्छ कि अन्य समयमा भन्दा त्यस दिन सामानको मूल्य निकै कम पर्ने, सस्तो पाइन्छ भन्ने उद्देश्यले पनि मानिसहरू मन्दिर र मेलामा घुम्न जाने गर्छन् । अन्य दिनभन्दा उक्त दिन दूध, दही, नौनी बढी बिक्री भएको डेरी पसलेहरूको भनाइ थियो । व्रत बस्ने मानिसहरूले दूध, दही बढी उपयोग गर्नुका साथै भगवान् कृष्णलाई दही अत्यधिक मन पर्ने हुनाले पनि त्यस दिन मानिसहरूले बढी मात्रामा दहीको उपयोग गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्