मनोमानी भाडा लिएको गुनासोपछि तोकियो एम्बुलेन्सको नयाँ भाडादर

रुकुम पश्चिममा एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ । एम्बुलेन्स संचालकहरूले बिरामीहरूबाट मनोमानी रुपमा भाडा लिने गरेको गुनासो आएपछि भाडादरमा एकरुपता कायम गर्न नयाँ भाडादर कायम गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको एम्बुलेन्स भाडा निर्धारण समितिको बैठकले नयाँ भाडादर कायम गरेको जनाइएको छ । यसअघिको भन्दा केहि भाडा दर वृद्धि गरिएको छ । अब बिरामीका लागि कच्ची बाटोमा प्रतिकिमि २ सय र पक्की बोटोमा प्रतिकिमि १५० रुपैयाँ भाडा तोकिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए । उनका अनुसार समितिले स्वास्थ्य सेवा कार्यालय सल्ले र मुसीकोट नगरपालिकाबाट जिल्ला भित्र र विभिन्न जिल्लामा जानका लागि भाडादर तोकेको हो ।
अबदेखि मुसीकोटबाट चौरजहारीका लागि ७ हजार र रुकुम पूर्वका लागि ६ हजार रुपैयाँ भाडा कायम गरिएको छ । त्यस्तै मुसिकोटबाट सल्यानका लागि ८५००, सुर्खेतको लागि १५ हजार, रुकुम पूर्व बागलुङ हुदै काठमाडौँ ३३ हजार र सल्यान दाङ हुँदै काठमाडौंका लागि ३५ हजार रुपैयाँ भाडा लिन पाउने व्यवस्था मिलाइएको छ । यस्तै मुसिकोटबाट तुल्सीपुरका लागि १३ हजार, घोराहीको लागि १४ हजार र नेपालगञ्जका लागि १८ हजार रुपैयाँ कायम गरिएको छ ।
बैठकले गन्तव्य स्थानसम्मको भाडा असुल गर्दा अनिवार्य रुपमा बिल दिनुपर्ने र तोकिए भन्दा बढी भाडा असुलेको पाईएमा कारबाही गर्ने निर्णय गरेको छ । यसका साथै गत वर्षको वार्षिक प्रतिवेदन यही भदौ २५ र मासिक प्रतिवेदन प्रत्येक महिनाको ७ गतेभित्र समितिलाई पेश गनुपर्ने छ ।
जिल्लाका अधिकाश एम्बुलेन्सहरू नवीकरण नभएकाले तत्कालै नविकरण गर्ने, भदौ महिनाभित्र सबै एम्बुलेन्समा जीपीएस जडान र (ग) वर्गका एम्बुलेन्सहरू (ख) वर्गमा लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने समितिले निर्णय गरेको छ ।