Logo

भोजपुरे खुकुरीको माग धान्नै मुस्किल

Traditional Bhojpure khukuris put on sale in Bhojpur district headquarters, on Thursday, October 13, 2016. Photo: Niraj Koirala

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।
पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमा कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म यसको माग हुने भए पनि मागअनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यवसायी बताउँछन् । खुकुरी बनाउने पेसालाई अपहेलनाको रूपमा हेरिने गरिएकाले यो पेसा संकटमा परिरहेको व्यावसायी बताउँछन् ।
उद्योगबाट भोजपुरे, सिरुपाते र चित्लाङले कोथीमोडालगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकरी विश्व बजारमा समेत प्रख्यात छन् । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम एक हजारदेखि अधिकतम १० हजारसम्म पर्छ ।
बाहिर जिल्लाबाट दुई/चार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जीता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए । “भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ,” गजमेरले भने, “देशका विभिन्न ठाउँबाट माग आउँछ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।”
विगतका वर्षमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रूपमा यो काम गर्ने मानिसको संख्या न्यून हुँदै गएको छ । बढी मेहनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चापदार्थ अभावले नयाँ पुस्तामा यसप्रति मोह कम भएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताए । विश्वकर्माले भने, “खास गरेर यो पेसालाई पुस्तान्तरण गर्न सकिएन । नयाँ पुस्ताले यो पेसालाई निरन्तरता दिन छाडेको छ । अलिक समयपछि कालीगढ पाउन मुस्किल पर्छ ।” पेसा लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताए । “मैले ४० वर्षबाट यही पेसा गरिरहेको छु,” उनले भने, “यतिका समय यही पेसा गर्दा पनि मलाई आर्थिक रुपमा समस्या नै छ । मेहनत बढी गर्नुपर्छ । आम्दानी कम छ । राज्यको सहयोग छैन । त्यसैले पछिल्ला पुस्ताले यो पेसा गर्न रुचाउन छाडे ।”
स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताए । व्यवसाय सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको अभाव रहेको उनको भनाइ छ ।
“राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौं,” लुवारले भने, “हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ । दैनिक कामकाजका लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ ।” सामुदायिक वनबाट काठ सहज रूपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ । आफूहरूले उत्पादन गरेका खुकुरीले पनि मेहनतअनुसारको मूल्य पाउन नसकेको कालीगढको भनाइ छ ।
खुकुरी उत्पादन गर्ने कालीगढ विचौलियाको मारमासमेत पर्ने गरेका छन् । “कालीगढका काममा धेरै दु:ख छ,” लुवारले दु:खेसो गरे, “अर्कातिर कच्चापदार्थ जुटाउन नै समस्या छ । कम्तीमा पनि राज्यले हामीलाई यहाँ लाग्ने विद्युत, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा केही सहयोग गरी दिए राहत मिल्ने थियो ।”
राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यवसाय संकटमा परेको उद्योग सञ्चालकको भनाइ छ । कालीगढ पेसालाई बचाई राख्नका लागि खुकुरी बनाउने लगायतका तालिम सञ्चालन गरिए पनि युवा शक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउँछन् । “खुकुरीको स्थानीयस्तरमै माग बढी छ,” व्यवसायी श्रेष्ठले भने, “गाउँघरमा परम्परागत रूपमा गरिने पेसा धेरैले छाडिसके । सदरमुकाममा उत्पादन भएका खुकुरी गाउँतिर पठाउनुपर्ने अवस्था छ । बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन । यही अवस्था रहेमा पेसालाई जोगाएर अर्को पुस्तामा लैजान नै समस्या छ । भोजपुरे खुकुरी नै संकटमा पर्ने अवस्था छ ।”

प्रतिक्रिया दिनुहोस्