तीजको रमाइलोसँगै उद्यमको प्रवद्र्धन
![](https://www.karobardaily.com/wp-content/uploads/2022/08/Mahila-Udhyami-Mela-Dhangadi-1-scaled.jpg)
महिला उद्यमीले आयोजना गरेको तीज महोत्सव सोमबार धनगढीमा सुरु भएको छ । तीज मनाउनुका साथै महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको हो ।
परम्परागत रुपमा तीज मनाउनुका साथै महिला उद्यमीहरुले निर्माण गरेका हस्तकलाका सामग्रीहरुको बिक्री, प्रचार र बजारीकरण गर्नका लागि मेला आयोजना गरिएको सुदूरपश्चिम प्रदेश महिला उद्यमी समितिकी अध्यक्ष रुकमणी देवकोटाले बताइन् । उनले स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाएको वेतको फर्निचर, अल्लोको तयारी पोशाक, झोला, अचार, गहनाहरु प्रदर्शनी तथा बिक्रीका लागि महोत्सवमा राखिएको बताइन् ।
समितिका अनुसार कैलाली जिल्लामा समितिमा आवद्ध भएर तीन सय ७५ जना महिलाले घरेलु, लघु तथा साना उद्यम गरी हस्तकलाका सामग्रीहरु उत्पादन गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशभरी आठ हजार भन्दा बढि महिलाले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी घरेलु, लघु तथा साना उद्योगहरु सञ्चालन गरिरहेको अध्यक्ष देवकोटाले बताइन् ।
दुई दिन चल्ने महोत्सव सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले उद्घाटन गरेका थिए । सो अवसरमा उनले जित महोत्सवसँगै प्रदर्शनीमा राखिएको उत्पादनले महिलाहरुको उद्यमशीलताको समेत प्रदर्शन गरेको बताए । उनले महोत्सवबाट तीजको रमाइलो गर्दै उद्यमशीलताको प्रबद्र्धन समेत महिलाहरुले गरिरहेकोमा प्रर्हाना समेत व्यक्त गरे । उनले उद्यमशीलताको विकासका लागि प्रदेश सरकार समेत सहकार्य गरिरहेको बताए ।
महोत्सवमा तीजको नाचगानका साथै उद्यमीहरुको उत्पादनलाई बजारसँग जोड्ने, बिक्री गर्ने, उद्यमी बन्न चाहने महिला दिदी बहिनीलाई उद्यमशीलता सम्बन्धी जानकारी दिइने जिल्ला महिला उद्यमी समिति कैलालीकी अध्यक्ष ज्योतिकला भुसालले बताइन् ।