मिटर ब्याज लगाउने लघुवित्त खारेजीका लागि आन्दोलन गर्ने चेतावनी

लघु वित्त तथा वित्तीय संस्थाहरु खारेजीको माग राख्दै २५ असोजमा लाखौं पीडितले सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । सोमबार ‘लघु वित्त तथा वित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ ले पत्रकार सम्मेलन गरेर पीडितहरुको न्याय र लघु वित्त तथा वित्तीय संस्थाहरु खारेज नगरे आन्दोलन चर्कने चेतावनी दिएका हुन् ।
संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले कैलालीकी रेश्मा चौधरीलगायतका हजारौंलाई आत्महत्या र लाखौंलाई घरबार विहीन हुन बाध्य पार्ने लघु वित्त तथा वित्तीय संस्थाहरु नेपाली समाजलाई विकृत बनाउन उद्दत रहेको आरोप लगाए । ज्ञवालीले देशभरी करिब ५८ लाख लघु वित्तका सदस्य र ३३ लाख ऋणी रहेकाले लघुवित्तको अराजकता रोक्न पीडितको ऋण मिनाहा र लघुवित्तहरु खारेज गर्नुको विकल्प नरहेको बताए ।
समाजवादउन्मुख नेपाली समाज भनेर उद्घोष गरेको सरकारले पीडितलाई न्याय नदिए आफूहरुले सडकबाट न्याय दिन बाध्य हुने उनले चेतावनी दिए । अध्यक्ष ज्ञवालीले लघुवित्तले १ लाख ऋण दिँदा सावाँको १५ प्रतिशत ब्याज, ३ प्रतिशत सेवा तथा अन्य शुल्क, त्यही ऋणको १० हजार अग्रिम किस्ता काटेर बाँकी ८५ हजारसम्म मात्रै ऋण पाउने र १३औं महिनामा किस्ता चुक्ता गर्दा करिब ३३ देखि ४० प्रतिशतसम्म चक्रिय ब्याज लिने गरेकोले पीडितहरु आत्महत्यासम्म पुग्न बाध्य भएको बताए ।