सरोकारवालाबीच समन्वय गरेर बिमाका समस्या हल गर्न आग्रह

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा समिति, नेपाल प्रहरी र बिमा कम्पनीहरूबीचको सहकार्यबाट नै बिमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने बताएका छन् ।
बिमा समितिले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष सिलवालले बिमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबीन गरी टुँगोमा पुर्याउन प्रहरीको सहयोग आवश्यक रहेको बताए ।
“बिमा समितिले बिमा व्यवसायमा देखिएका अनियमितता र कानून विपरितका क्रियाकलापको अनुसन्धान गरी नियन्त्रण गर्न भरसक कोशिस गरिरहेको छ । करोडौंको बिमालेखमा अवैध लगानी भई वित्तीय अपराध समेत हुनसक्ने आशंका भएकाले त्यसमा पनि समितिले निगरानी गरिरहेको छ । तर व्यवसायको विस्तारसँगै बढ्ने अपराधिक क्रियाकलापको अनुसन्धान समितिले मात्र गर्न सक्दैन” अध्यक्ष सिलवालले भने, “अब अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाउनुपर्ने बेला आएको छ । प्रहरीले गर्ने अनुसन्धानमा सघाउन बिमा समिति प्रतिवद्ध छ ।”
“बिमा व्यवसाय अब एकाङ्कीरूपमा चल्न सक्दैन । फाइदाका लागि गलत गतिविधि गरिएका हुन सक्छन् । जोखिमाङ्कनमा समस्या छ । फाइदाका लागि नीति, नियम र निर्देशिकालाई तोडमोड गर्नेगरिएको पाइन्छ,” अध्यक्ष सिलवालले भने, “जीवन तथा निर्जीवन बिमामा कहाँ कहाँ कमी कमजोेरी छन्, बिमा समितिले बुझेको छ र सोही अनुसार अनुसन्धान र कारवाही अगाडि बढाएको छ । यसमा प्रहरीको पनि सहयोग आवश्यक छ । बिमा व्यवसायमा हुने अपराधिक क्रियाकलापको नियन्त्रणका लागि नवीनतम औजार एवम् उपकरणको विकास तथा प्रयोगमा बिमा कम्पनीहरूले पनि प्रहरीलाई सहयोग गर्नुपर्छ ।”
कार्यक्रममा बिमा समितिका निर्देशक दिनेशकुमार लालले बिमा व्यवसायमा भएको विस्तारसँगै समस्याहरू पनि थपिंदै गएको, दाबी भुक्तानीमा समस्या देखिएको र जालसाजी तथा ठगीका घटनाहरू समेत देखिन थालेकाले यस्ता समस्याहरूका बारेमा छलफल गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
यसैगरी, जीवन बीमक संघका तर्फबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बिमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या तथा समाधानका उपायका बारेमा चर्चा गरेका थिए । नेपाल बीमक संघका तर्फबाट सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवारले निर्जीवन बिमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी प्रस्तुती गरेका थिए ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले बिमा सम्बन्धी समस्याको समाधानका लागि जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने र समस्या समाधानका लागि बिमा समितिले ठोस नीति ल्याउनुपर्ने बताइन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बिमामा हुने अपराध तथा ठगी लगायतका सबै घटनाको अनुसन्धानका साथै ठूला ठूला बिमालेखहरूमा हुने लगानीका सम्बन्धमा समेत अनुसन्धानको आवश्यकता औंल्याए ।