Logo

सन्राइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सन्राइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ ।
दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्मा तथा निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति दस लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति बीस लाखसम्म कोषले सुरक्षण गर्ने छ ।
त्यसैगरी वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति दस लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी (वा व्यक्तिगत वा सामुहिक जमानीमा लगानी गर्ने पन्ध्र लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।
सम्झौता पश्चात् निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत लघुवित्त तथा विपन्न वर्ग कर्जा तथा कोषले तोकेको व्यवसाय क्षेत्रमा बैंकले लगानी गरिएका कर्जाको जोखिम न्यूनिकरण हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्