धौलागिरि आइसफलमा पदमार्ग निर्माण सुरु «

धौलागिरि आइसफलमा पदमार्ग निर्माण सुरु

म्याग्दीको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरु भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट आइसफल पदमार्ग निर्माण सुरु गरिएको हो ।
पर्यटन विभागसँग दुई वटा प्याकेजमा ७७/७७ लाखमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले कार्यक्षेत्रमा आएर स्थलगत नापजाँचसहित पदमार्ग निर्माण सुरु गरेको कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले बताए । उनका अनुसार, यस वर्ष एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौता भएको छ ।
आगामी असारभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी पदमार्ग निर्माणको काम अघि बढेको कम्पनीले जनाएको छ । पदमार्गअन्तर्गत रघुगंगा गाउँपालिका–७ चिमखोलाको ससलधारा क्षेत्रमा ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण सुरु भएको छ । तीन सातादेखि चिमखोलाका २४ जना ओढारमा बास बसेर पदमार्ग निर्माण गरिरहेका छन् । तीन सातामा ससलधाराको उकालोमा करिब तीन सय मिटर ढुंगाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको चिमखोलाका अगुवा गम पुनले बताए ।
“दुई मिटर फराकिलो पदमार्ग बनाएका छौं, यस वर्ष ससलधारादेखि बेस क्याम्प हुँदै कालीबराह र दहबुकीतर्फ समेत पदमार्ग बनाउने योजना छ, कम्पनीलाई स्थानीयस्तरबाट पदमार्ग बन्नैपर्ने स्थानका बारेमा जानकारी गराइएको छ,” उनले भने । यस पदमार्ग निर्माणमा यस वर्ष अहिलेसम्मकै ठूलो बजेट विनियोजन भएको हो । पदमार्गको विकासमा पूर्वमन्त्री थममायाँ थापाले समेत निरन्तर पहल गर्दै आएको पुनको भनाइ छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत कोखेभीर र पापिधर्मी डाँडामा अत्यन्तै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यस वर्ष यी दुवै भीरमा पदमार्ग निर्माण गर्न सकेमा धौलागिरि आधार शिविर पुग्ने पदमार्गमा पर्यटकको आगमन बढ्ने स्थानीयबासीको भनाइ छ ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले यस क्षेत्रमा कुल १ सय ७३ किलोमिटर लामो पदमार्गको डीपीआर गरिएको र सोहीबमोजिम पदमार्गलगायतका पर्यटन पूर्वाधार निर्माणमा संघ र प्रदेश सरकारसँंग निरन्तर पहल गरिएको जनाएको छ । मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी नै छ ।
धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौं हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा ताल, डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा लगायतका जंगली पशुपंक्षी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्