भूमिहीन व्यवस्थापनका लागि काम सुरु

राष्ट्रिय भूमि आयोगले रुकुम पश्चिमका भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या व्यवस्थापनका लागि काम सुरु गरेको छ । यसको पहिलो प्रकृया स्वरुप जिल्लाका स्थानीय तहसंँग कार्य सहमति पत्रमा हस्ताक्षर कार्यक्रम सञ्चालन गरेको छ । शनिबार सदरमुकाम खलंगा भएको एक जिल्लास्तरीय कार्यक्रमका बीच बाँफिकोट गाउँपालिकाबाहेक पाँचवटा स्थानीय तह कार्य सहमति पत्रमा हस्ताक्षरसमेत भएको छ ।
उक्त कार्यक्रममा बाँफिकोट गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित रहेका कारण सम्झौता हुन नसकेको र केही दिनभित्रै उक्त कार्य सम्झौता हुने बताइएको छ । भूमि आयोगका सदस्य दाताराम खनालले स्थानीय तहका प्रमुखसँग कार्य सहमति पत्रमा आदानप्रदान गरेका हुन् । मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी, चौरजहारी नगरप्रमुख पुष्प वादी, आठबीसकोट नगरप्रमुख रवि केसी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले सहमति पत्रमा हस्ताक्षर गरे । सम्बन्धित पालिकामा रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापनको उद्देश्यसहित कार्य सहमति पत्रमा हस्ताक्षर भएको राष्ट्रिय भूमि आयोगका सदस्य दाताराम खनालले बताए । यो एक महाभियान रहेका कारण सबै संस्था र व्यक्तिको सकारात्मक सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
लगत संकलनको काम छिटै
राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य सुशील विष्टका अनुसार आयोग र स्थानीय तहबीचको सम्झौतासँगै छिटै स्थानीय तहले भूमीहीनलाई निवेदन दिन आह्वान गर्नेछन् । त्यसपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीले पालिका कार्यालयमार्फत निवेदन दिन सक्नेछन । भूमिहीनको निवेदन दिनका लागि आफ्नो वा परिवारको नाममा कुनै पनि जग्गा पुर्जा नभएको र जग्गा जमिन किन्न सक्ने आर्थिक अवस्था नभएको लगायतका स्वघोषणा फाराम भर्नु पर्नेछ । वडा, पालिकाका समितिले समस्या समाधन गर्न नसकेमा आयोगको जिल्ला कार्यालयमार्फत आवश्यक अनुगमन र सहजीकरण गर्ने राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका अध्यक्ष मिनबहादुर ओलीले जानकारी दिए ।