Logo

नेपाल–भारतबीचको वाणिज्य सन्धिविपरीत भारतीय पक्षले नेपाली चियामा परिमाणात्मक बन्देज लगाउने तयारी गरेपछि नेपालको समग्र चिया उद्योग यतिबेला आतंकित बनेको छ ।

नेपालको चिया उद्योगका अवरोध

नेपालमा चिया उत्पादनको लामो इतिहास छ । पहिलो चिया बगान इलाम चिया बगान सन् १८६३ मा इलाम जिल्लाको पहाडी क्षेत्रमा सुरु भएको थियो । इतिहासकारहरूका अनुसार नेपालमा पहिलो चियाको बोट बीउबाट हुर्किएको हो, जुन चिनियाँ सम्राट्ले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारस्वरूप दिएका थिए । भारतको दार्जीलिङ पहाडमा जस्तै नेपालमा पनि चियाको खेती सुरु भएको मानिन्छ ।
सन् १९६५ मा झापा जिल्लाको समतल इलाकामा दोस्रो चिया बगान सोक्तिम चिया बगान स्थापना भएको थियो । नेपालमा समुद्री सतहबाट ८ सयदेखि २२ सय मिटरसम्मको उचाइमा चिया खेती गरिन्छ । यसअघि पूर्वी नेपालको इलाम र झापाजस्ता केही जिल्लामा उत्पादन केन्द्रित थियो । पछिल्लो समय देशका अन्य भागमा पनि चिया बगान फस्टाउँदै गएको छ । हाल चियाको क्षेत्रफल २८ हजार ७ सय हेक्टर रहेको छ । नेपालले पहाडमा वार्षिक करिब ७ हजार १ सय ६८ टन अर्थोडक्स चिया उत्पादन गर्छ । यसले तराईमा बलियो र चम्किलो उपस्थितिका लागि परिचित १५ हजार ६ सय ५४ टन सीटीसी चिया पनि उत्पादन गर्छ ।
चिया नेपाल र भारतमा दैनिक रूपमा प्रयोगमा आउने वस्तु हुन् । तर, यो नरम पात एउटा मुद्दाको रूपमा देखा परेको छ, जसलाई दुई देशबीच कूटनीतिक समाधान आवश्यक एवम् अनिवार्य भएको छ— दुवै मुलुक विश्वमा सबैभन्दा बढी खपत हुने वस्तुहरू उत्पादन गर्नका लागि परिचित छन् ।
नेपाल–भारतबीचको वाणिज्य सन्धिविपरीत भारतीय पक्षले नेपाली चियामा परिमाणात्मक बन्देज लगाउने तयारी गरेपछि नेपालको समग्र चिया उद्योग यतिबेला आतंकित बनेको छ । नेपाली चिया आयातलाई सुरुमा परिमाणात्मक प्रतिबन्ध लगाउने अनि बिस्तारै पूर्ण बन्देज लगाउने गरी गरिएको प्रस्ताव अहिले भारतीय संसद्का दुवै सदनमा पुगेको कुरा छापामा सार्वजनिक भएको छ ।
छिमेकी मुलुक भारतले आफ्नै उद्योग जोगाउन नेपाली चिया आयातमा अवरोध बढाउने चिन्तामा नेपाली चिया उत्पादकले हालै नेपालका प्रधानमन्त्रीलाई भेटेर यस्तो कदमको सम्भावित गम्भीर परिणामबारे जानकारी अवगत गराएका छन् ।
भारत नेपाली चियाको सबैभन्दा ठूलो खरिदकर्ता हो र भारतीय संसदीय प्यानलले माग गरेअनुसार उत्पत्ति प्रमाणपत्रका लागि थप कडा आवश्यकताहरू घरेलु उत्पादकहरूका लागि विनाशकारी हुने कुरामा कुनै शंका छैन ।
भारतले चिया निर्यातमा थप कर लगाउने कुरा आएपछि नेपाल आफ्नो चिया क्षेत्रको अस्तित्वको चिन्तामा छ । भारतको वाणिज्यसम्बन्धी संसदीय स्थायी समितिले जुनमा नेपालबाट भारत निर्यात हुने चियाको प्रमाणीकरणका लागि भन्सारका अतिरिक्त कडा मापदण्डहरू लागू गर्न सरकारलाई सिफारिस गरेको कुरा सार्वजनिक भएका छन्, जसको समाधान कूटनीतिक माध्यमबाट हुनु आवश्यक र अनिवार्य छ ।
संसदीय समितिले छिमेकी मुलुकबाट न्यून गुणस्तरका उत्पादन भित्रिएमा भारतीय चिया उद्योगलाई जोखिममा पारेको भन्दै ४० देखि १ सय प्रतिशतसम्म एन्टिडम्पिङ शुल्क लगाउन आग्रह गरेको छ । प्यानलले सन् १९५० को नेपाल–भारत सन्धि पुनरावलोकन गर्न पनि आग्रह गरेको छ । तसर्थ, नेपालको रु. ५ अर्ब रुपैयाँको चिया उद्योग कठिन समयबाट गुज्रिरहेको कटु सत्य हाम्रो सामु छ ।
नेपाली चिया उत्पादकहरूले निर्यातमा प्रतिबन्ध लगाउने कुनै पनि कदमले उद्योगलाई नराम्ररी असर गर्ने देखिन्छ । नेपालले आफ्नो करिब ९० प्रतिशत अर्थोडक्स चिया र ५० प्रतिशत क्रस, टियर एन्ड कर्ल (सीटीसी) चिया दक्षिणी छिमेकी मुलुकमा पठाउने गरेको छ ।
भारतको प्रस्ताव साकार भए नेपाली चिया उद्योगका लागि विपद् हुनेछ । त्यसो भएको हुनाले द्विपक्षीय वार्ता गरेर छिट्टै समस्या समाधान गर्न जरुरी छ ।
इतिहासको सरसरी समीक्षा गर्दा, वर्षौं अघि दार्जीलिङ चिया संघले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई दार्जीलिङ भ्रमण गर्दा ज्ञापनपत्र बुझाएर नेपाली चिया आयात रोक्न आग्रह गरेको थियो । नेपाली चियाको आयात रोक्न दार्जीलिङबाट पटकपटक प्रयास भइसकेको छ । नेपालको चिया गुणस्तरहीन भएको र मूल्य पनि कम भएकाले भारतको चिया उत्पादनमा असर परेको भारतीय उत्पादकहरूले आरोप लगाएका छन् । नेपालमा उत्पादन हुने सस्तो चिया भारतमा निकासी गर्न नपाउने भएकाले भारतका चिया उत्पादकहरूलाई चुनौती दिने प्रतिवेदनमा उल्लेख छ । भारतले नयाँ नीति लागू गरे हजारौं किसानलाई असर पर्न सक्छ । चियामा भन्सार लगाउने नेपाली चिया महँगो हुने भएकाले यस निर्णयले सयौं कारखाना ध्वस्त हुने सम्भावना छ ।
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार नेपालले गत असार १६ गतेसम्ममा ३ अर्ब ४३ करोड रुपैयाँको १२ हजार ४ सय ९४ टन चिया निकासी गरेको थियो । नेपालीले वार्षिक करिब २ अर्ब रुपैयाँ बराबरको चिया उपभोग गर्ने चिया उत्पादकहरू बताउँछन् । नेपालको ५ अर्ब रुपैयाँको चिया उद्योग छ ।
नेपाली चियाबारे भारतीय सांसदका ११ आरोप हेर्दा : भारतका दुईवटा सदनका ३० जना सांसद सहभागी एक समितिले सरकारलाई प्रतिवेदन बुझाएको बुझिन्छ । उक्त प्रतिवेदन गत असार १ (१५ जुन, २०२२) मा भारतको राज्यसभा र लोकसभामा पेस भएको छ । सो प्रतिवेदनको सम्पूर्ण विषय र निर्देशन नेपाली चिया रोक्नुमा केन्द्रित छ ।
आम सञ्चारका माध्यममा सार्वजनिक भएअनुसार नेपाली चियामा भारतीय सांसदले लगाएका ११ आरोपको प्रतिवाद नेपालले गर्नुपर्छ । नेपालको सस्तो र गुणस्तरहीन चिया आयातका कारण विश्वको एकमात्र उत्कृष्ट दार्जीलिङ चियालाई असर परिरहेको बताउँछ । भारतको कुल चिया उत्पादनको झन्डै २ प्रतिशत हाराहारी चिया यहाँका छिमेकी मुलुकबाट आयात हुने चार वर्षको आयातको विवरणले देखाउँछ, जसमा कुल आयातको आधा हिस्सा नेपालले ओगट्छ ।
भारतको संसद्मा बुझाइएको प्रतिवेदनबारे भारत सरकारले अहिलेसम्म कुनै निर्णय भने गरेको छैन । तर, जुनसुकै बेला भारतले यस्तो निर्णय गर्न सक्ने भन्दै नेपाली चिया उत्पादक र व्यवसायीहरू भने त्रासमा छन् । उनीहरूले भारतसँग कूटनीतिक रूपमा पहल थाल्न आग्रह पनि गरिसकेका छन् । नेपालले भारतमा वार्षिक ५ अर्ब रुपैयाँ हाराहारीको सवा १ करोड किलो चिया निर्यात गर्ने गरेको नेपाल चिया उत्पादक संघले जनाएको छ ।
भारतको राज्यसभा र लोकसभामा पुगेको उक्त प्रस्ताव पारित भए नेपाली चियाले आफ्नो मुख्य अन्तर्राष्ट्रिय बजार गुमाउने निश्चित छ । भारतीय संसद्को राज्यसभाअन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ ले तयार पारेको प्रतिवेदनको १७१ नम्बर बुँदामा नेपाली चियालाई आयात प्रतिबन्ध लगाउने कुरा उल्लेख छ । समितिले दुईवटा कारण औंल्याउँदै चिया आयात कसिलो पार्नुपर्ने बताएको छ ।
समितिले औंंल्याएको पहिलो कारण हो, नेपाली चिया गुणस्तरहीन छ । दोस्रो, एकदमै न्यून मूल्यको चिया मात्रै भारतीय बजार आइपुग्छ ।
नेपालका चिया उद्यमी तथा सरोकारवालाहरू त्रस्त बन्नलाई यसबेलाको समयले पनि काम गरेको छ । नेपाल–भारत वाणिज्य सन्धिको आवधिक पुनरावलोकन हुने बेलामै भारतले यस्तो तयारी गर्दासमेत चिन्ता र चासो बढेको हो ।
नेपाल भारतबीच सम्पन्न द्विपक्षीय व्यापार सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने कृषिवस्तुमा कर नलिने उल्लेख छ । यतिमात्रै होइन, नेपालबाट आयात गरिने कृषि उत्पादनमा भारतले परिमाणात्मक बन्देज नलगाउने बुँदा पनि प्रस्ट रूपमा उल्लेख छ ।
हालसम्म कुनै पनि करको दायरामा नपरी भारत निर्यात भइरहेको नेपालको चियामा कर लगाउने अनि गुणस्तरका नाममा परिमाणात्मक बन्देज लगाइने हल्लाले नेपाली चियाले अन्तर्राष्ट्रिय बजार गुमाउने खतरा बढेको भन्दै सरोकारवाला यतिबेला तीव्र बहस/पैरवीमा लागेका हुन् ।
भारतीय पक्ष नेपाली चियाप्रति यसरी अनुदार हुनुमा दार्जीलिङको दबाबले काम गरेको हो कि भन्ने अनुभूति भएको छ । नेपाली चियाका कारण आफूहरू मारमा परेको भन्दै दार्जीलिङका चिया उत्पादकले नेपालको चिया आयात रोक्न माग गर्दै आएको लामो समय भइसकेको छ ।
अर्कातर्फ, नेपाली चियालाई गुणस्तरहीन भन्दै रोक्न माग गर्ने दार्जीलिङका व्यवसायीहरूले नेपालकै चियालाई आफ्नो ट्रेडमार्क प्रयोग गरेर विश्व बजार पठाइरहेको आरोप नेपाली पक्षको छ । यसका बावजुद अहिले भारतमा जे तयारी भएको छ, त्यसले नेपाली चिया उद्योग संकटग्रस्त बन्ने प्राय: निश्चित छ ।
प्रमुख अन्तर्राष्ट्रिय बजार राष्ट्रले संसद्बाटै कानुन बनाएर आयात रोक्ने तयारी गर्नु चिन्ताको विषय हो । नेपालका प्रधानमन्त्रीले तत्कालै भारतीय पक्षसँग कुरा गर्ने आश्वासन दिएको देखिन्छ ।
झापा र इलाम चिया उत्पादनका लागि कहलिएका क्षेत्र हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार नेपालका २८ जिल्लाका १६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा चिया उत्पादन भइरहेको छ ।
बोर्डका अनुसार सन् २०२०–०२१ मा नेपालमा १ करोड ५६ लाख ४१ हजार केजी सीटीसी चिया उत्पादन भएको थियो । अर्थोडक्स चिया ७१ लाख ६८ हजार २ सय ५५ केजी उत्पादन हुँदा ग्रिन टी ७ लाख ७२ हजार ४ सय ५५ केजी उत्पादन भएको थियो । अन्य चिया १ लाख ५१ हजार ९१ केजी उत्पादन हुँदा कुल २ करोड ३७ लाख ४५ हजार ९ सय १ केजी चिया उत्पादन भएको थियो । यो सबै चियाको ९० प्रतिशतभन्दा ठूलो हिस्साको बजार भारत नै हो ।
नेपालको १३ प्रतिशत व्यापारघाटा पूर्ति गर्ने र वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख कृषि उत्पादन चिया नै भएको जनाउँदै सम्बन्धित व्यवसायीले भारतीय पक्षसँग कूटनीतिक पहलमार्फत सहजीकरण गर्न सरकारसँग माग गरेको छ ।
यदि भारतको संसद्मा पेस भएको प्रतिवेदन जस्ताको तस्तै पारित भयो भने १ सय ५० भन्दा बढी उद्योगहरू बन्द हुनेछन् । चिया खेतीमा आश्रित २६ हजारभन्दा बढी किसान, ८० हजारभन्दा बढी चिया मजदुर बेरोजगार हुनेछन् ।
नेपालको चियालाई खराब गुणस्तर भन्ने भारतीय चिया व्यवसायीले नेपाली हरियो चियापत्ती निकासीमार्फत प्रशोधन गरी दार्जीलिङकै नामबाट बिक्री गर्दै आएको कुरासमेत सार्वजनिक भएका छन् ।
भारतले प्रतिबन्ध लगाउने हो भने त्यो अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लंघन हुने कुरा पूर्व वाणिज्यसम्बन्धी अधिकारी र व्यापार विज्ञको मत रहेको छ । दार्जीलिङको चियाभन्दा इलामको अर्थोडक्स चिया स्वादिलो हुने नेपाली व्यापारीहरूको दाबी छ । दार्जीलिङ र इलामको प्राकृतिक विशेषता र मौसम लगभग उस्तै छ । त्यसैले इलामको चिया दार्जीलिङको चिया जत्तिकै राम्रो रहेको व्यवसायीले बताए । नेपाली चियाको गुणस्तरलाई लिएर भारतीय पक्षले बारम्बार गरेको झन्झटले किसानलाई चिया उत्पादन गर्न निरुत्साहित गरेको नेपाली चिया उत्पादक बताउँछन् । घरेलु उद्योगलाई जोगाउन कुनै पनि उत्पादनको आयातमा रोक लगाउनु अन्तर्राष्ट्रिय व्यापार प्रथाविपरीत हो ।
भारतमा आयात रोक्न कानुन बनाउने प्रयास भइरहेका बेला चीनले नेपाली चिया आयात गर्ने संकेत गरेको छ । नेपाल सरकारले काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत नेपाली चिया आयात गर्न चीनलाई आग्रह गर्दै आएको थियो । हालै परराष्ट्रमन्त्रीको चीन भ्रमणमा जाँदा उत्तरी छिमेकीले नेपाली चिया आयात गर्ने विषयमा सकारात्मक प्रतिक्रिया दिएका थिए । सरकारको अनुरोधमा चीनले सकारात्मक प्रतिक्रिया दिएको, द्विपक्षीय सम्झौताअनुसार अहिले चीनमा नेपाली चिया निकासीको मापदण्ड तयार गर्ने बाटो खुलेको कुरासमेत सार्वजनिक भएका छन् ।
यस सन्दर्भमा, नेपाली चिया व्यवसायी, किसान र सरोकारवालाले चियाको दीर्घकालीन बजार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले पनि समस्या समाधानका लागि पहल गरेको बताइएको छ ।
चीनमा नेपाली चियाको बजार सम्भावना प्रचुर भए पनि निकासीमा सहजीकरणका लागि सरकारले पहल गर्नुपर्नेछ । चीनमा चिया निर्यात गर्न सहज नहुने देखिन्छ ।
समग्रमा, चियासम्बन्धी यो सम्भावित समस्याको भारतीय पक्षबाट नेपालको समग्र अर्थतन्त्रमा चियाले पुर्‍याएको योगदान र छिमेकीको दृष्टिबाट र प्रचलित वाणिज्यसम्बन्धी कानुनसमेतलाई मध्यनजर राखी तदनुरूप नेपाली चिया उद्यमी र व्यवसायीको समेत हितमा निर्णय हुनेमा नेपाल विश्वस्त छ भन्नुमा अत्युक्ति नहोला ।

प्रतिक्रिया दिनुहोस्