प्रदीप गिरीको राजकीय अन्त्येष्टि

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरीको आइतबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । “नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ । सोहीअनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो,” उनले भने । गिरीलाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो । स्वर्गीय गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए ।
गिरीको अन्त्येष्टिमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा केन्द्रीय नेताहरु, विभिन्न पार्टीका शीर्ष नेताहरु, सरकारका मन्त्रीहरु, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छुक र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो ।
गिरीको पार्थिव शरीर आइतबार बिहान मेडिसिटी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिएको थियो भने त्यसछि नेपाली कांग्रेसको मुख्यालय सानेपामा राखिएको थियो । सानेपामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको चार तारे झण्डा ओढाएर सम्मान र श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
नेपाली कांग्रेसले दिवंगत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।
गिरीबारे कसले के भने ?
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्व. प्रदीप गिरी निडर नेता भएको बताए । कोइरालाले उनी आफ्नो कुरा स्पष्टसँग राख्न सक्ने निडर नेता भएको उल्लेख गरे ।
गिरीको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरुले पनि केही सिक्नुपर्ने उनको भनाइ छ । उनले भने, “उहाँ निडर मान्छे । पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन । त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला यो आफ्नो ठाउँमा छ । उहाँबाट हामीले सिक्नुपर्ने भनेको सादगी जीवन पनि हामीले सिक्नुपर्नेछ ।”
गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले गिरी नेपाली राष्ट्रियताको संवद्र्धन र जनताको अधिकारलाई स्थापित गर्न जीवनभर लागिरहेको बताए । गिरीले नेपाली कांग्रेसलाई समावेशी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको उनले उल्लेख गरे । उनको निधनले सिंगो देशलाई क्षति भएको मन्त्री खाणको भनाइ छ ।
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गिरीलाई समाजवादी विचारका चिन्तक तथा अध्ययनशिल व्यक्तित्वको रुपमा उल्लेख गरे । उनी कम्युनिष्ट र कांग्रेस मिलेर नै देशको विकास गर्नुपर्छ भन्ने पक्षमा रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले गिरी नेपाली राजनीतिको एउटा ताराको रुपमा रहेको उल्लेख गरे । गिरीले लोकतन्त्र र समाजवादको गहिरो व्याख्या गर्ने गरेको स्मरण उनले गरे ।
नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले प्रदीप गिरी नि:स्वार्थी नेता भएको उल्लेख गरे । कुनैपनि लोभ उामा नरहेको भन्दै राणाले सांसद बनेर संसदमार्फत बोलि सरकारलाई दबाब दिनुमात्रै उनको चाहना रहेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले गिरीको बौद्धिक व्यक्तित्व र तर्कशीलता सबैका लागि प्रेरणाको स्रोत रहेको बताए । उनले राजनीतिकलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यमको रुपमा लिनुपर्ने कुरालाई पनि गिरीबाट प्रेरणा लिन सकिने बताए । अध्यक्ष दाहालले गिरीको समाजवादी चिन्तनबाट सिकेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
नेकपा (एमाले)का नेता भिमबहादुर रावलले नेता गिरीलाई एउटा बौद्धिक र लोकतन्त्रका लागि निरन्तर संघर्षरत योद्धाको रुपमा नेपाली समाजले सम्झिरहने बताए । कार्यकारी पद र प्रतिष्ठा नभए पनि नेताहरु सम्मानित हुन सक्छन् भन्ने कुरापनि गिरीले पुष्टि गरेको उनको भनाइ थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले स्वर्गीय नेता गिरीलाई देश र जनताप्रति समर्पित नेताको रुपमा चित्रण गरे । गिरी सिद्धान्तनिष्ट र आर्दशवादी नेता भएको र उनको निधन मुलुकका लागि अपूरणीय क्षति भएको पनि उनले बताए ।
बक्स
सरल जीवनशैलीका गान्धीवादी नेता
पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट २००४ असोज २४ गते गोवर्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मेका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका छन् । समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता थिए उनी ।
उनी राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रबिन्दुमा राख्थे । कांग्रेसलाई थप समावेशी र सबल बनाउन उनी हरदम क्रियाशील रहेको कांग्रेसले जनाएको छ ।
नेता गिरी नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर संघर्षरत रहे । सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटकपटक जेल र निर्वासनमा रहेका थिए ।
उनी कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय थिए । महान दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिंगो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको कांग्रेसको ठहर छ ।
बैठकले उनीप्रति उच्च सम्मान प्रकट गर्दै यस दु:खद् घडीमा उनीको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलीका साथ शोकाकूल परिवारजन एवं समस्त पार्टी सदस्यमा समवेदना प्रकट गरेको छ ।