महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम

सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको छ । करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना सहभागी भएका छन् ।
तालिमको समापन अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलालाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् । चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आएको भन्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।
सूचना प्रविधिमा महिलासंस्थाकी अध्यक्ष गुणकेशरी प्रधानले महिलाको सशक्तीकरणका लागि नेपाल महिला चेम्बरसँग सहकार्य गर्न गरिएको बताइन् । महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यस अघि फोटोग्राफी, मैनवत्ती बनाउने तथा बेकरी तालिम आयोजना गरिसकेको छ ।
नेपाल महिला चेम्बरकी महासचिव लीमा अधिकारीले आर्थिक रुपमा सम्पन्न नभएसम्म महिलाको अधिकार सुनिश्चित नहुने बताइन् ।