शाली नदी मेला सकियो

राजधानी नजिकै रहेको साँखुस्थित शालीनदीमा माघ स्नानसहित माधवनारायणको मेलामा विगतका वर्षमा झैँ यस वर्ष पनि भक्तजनहरूको उल्लेखनिय सहभागिता देखिएको छ । पुस १८ गतेदेखि सुरु भएको मेला बुधबार सम्पन्न भएको छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजनहरू मेलामा सहभागी हुने गर्दछन् । मेलामा सबै उमेरका भक्तजनहरूको सहभागी बाक्लो उपस्थिति रहेको थियो ।
पौष शुक्ल पूर्णिमादेखि माघ शूक्ल पूणिमासम्म विधिपूर्वक गरिएको स्वस्थानी ब्रत सोमबार सकिएको थियो । एक महिनासम्म स्वस्थानी ब्रत र माघ स्नान गर्न गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाको नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात गर्ने गरिन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरी बेलुका स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यवीच संवाद भएकोे स्वस्थानीको व्रत कथा सुनाउने र सुन्ने चलन पनि रहेको छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाको दिन १०८ जनै १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी,१०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्ग दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा नभए मित छोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने ब्रत विधि रहेको छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ भन्ने पण्डित मोहनप्रसाद उपाध्याय ण्डारीले जानकारी दिए । अर्थात् आफू बसेको स्थानको देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । ध्यान योग साधनाको लागि उपयुक्त भएकाले स्वस्थानी अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास रहेको छ । यसको लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
धार्मिक मान्यता
सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशाानुसार स्वस्थानी व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेको नाग–नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रत विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतको प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । यसैगरी स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ ।
रिना खत्री/यशोदा सुनुवार