Logo

भारतले चिया रोक्ने प्रयास गरेपछि नेपाली व्यवसायी चिन्तित

भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरंग पैदा भएको छ । उत्पादित तयारी चियाको ९० प्रतिशत निर्यात बजार रहेको भारतमा नेपाली चिया रोक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायीहरू चिन्तित भएका छन् ।
नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश निर्यात गर्दा भारतको चियासमेत सोहीअनुरूपको भएको भन्दै त्यहाँको संसद्को एक समितिले नेपाली चिया रोक्न प्रस्ताव गरेको थियो । भारतीय बजारमा नेपाली चिया गुणस्तरहीन भन्ने हल्ला चलाइएपछि नेपाली चिया व्यवसायीहरू हाल नेपालको चिया बिक्ने–नबिक्ने अन्योलमा छन् । उद्योगी तथा व्यवसायीहरूले भारतले नेपाली चियालाई आरोपमात्र लगाएको भन्दै यसको विरोध गरेका छन् । भारतीय संसद्को सो समितिले नेपालमा उत्पादन हुने चिया सस्तो र गुणस्तरहीन भएको भन्दै आरोप लगाएको हो । नेपाली चिया व्यवसायीहरू भारतको झूटो आरोपले नेपाली चियाको बजार धरापमा पर्ने भन्दै चिन्तित समेत भएका छन् ।
नेपालको चिया वर्षौंदेखि भारत हुँदै तेस्रो मुलुक निर्यात हुँदै आएको छ । नेपाली चिया व्यवसायीले चियामा भारतीय पक्षले झूटा आरोप लगाएको बताउँदै आएका छन् । नेपालमा उत्पादित चिया आयात रोक्नुपर्ने सुझावसहितको प्रतिवेदन भारत सरकारलाई बुझाएपछि भारतीय पक्षले षड्यन्त्र रचेर नेपालको चिया बदनाम गराउन खोजेको नेपाली व्यवसायीको भनाइ छ । स्रोतका अनुसार भारतका दुई सदनका ३० जना सांसद सहभागी एउटा समितिले भारतीय सरकारलाई प्रतिवेदन बुझाएको छ ।
नेपालमा उत्पादित चिया सस्तो र गुणस्तरहीन भएका कारण विश्वको एक मात्र उत्कृष्ट दार्जीलिङको चियालाई असर परेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । साथै भारतमा चियासँग सरोकार राख्ने विभिन्न संघसंस्थाले संसदीय समितिलाई नेपालबाट आयात हुने सस्तो र गुणस्तरहीन चियाको परिमाण धेरै भएको बताएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार भारतको आर्थिक वर्ष सन् २०१३/०१४ देखि सन् २०१८/०१९ सम्म एक करोडदेखि १ करोड २० लाख किलोसम्म चिया भारत भित्रिएको उल्लेख छ ।
नेपालको सस्तो र कम गुणस्तरको चियाका कारण भारतको राम्रो दार्जीलिङ चिया विश्व बजारमा अलोकप्रिय भएको भन्दै भारतीय पक्षले नेपाली चिया रोक्न प्रयास गरेको जनाइएको छ । सूर्याेदय टी प्रोड्युसर्स एसोसिएसनले भारतीय संसद्ले प्रस्ताव पारित गरे नेपाली चिया उद्योग बन्द हुने अवस्थामा पुग्ने बताउँदै आएको छ । नेपालले चिया विदेश निर्यात गर्न नेपालको आफ्नो लोगोसमेत प्राप्त गरिसकेको छ । तर, अझै नेपाली चिया विदेश निर्यात गर्न भारतकै भर पर्नुपर्ने अवस्था छ ।
भारतमा नेपाली चिया निर्यात रोके नेपालको अर्थतन्त्रमा समेत समस्या हुने सूर्योदय टी एसोसिएसनका अध्यक्ष उत्तम श्रेष्ठले बताए । उनले नेपाली चिया रोक्नुअघि नै नेपालको तर्फबाट कूटनीतिक पहल गर्नुपर्ने बताए । उनले नेपाली चिया बिक्री गर्न भारतको मात्र भर पर्नुपर्ने भन्दा पनि अन्य मुलुकमा चिया निर्यातका सरकार लाग्नुपर्नेमा जोड दिए ।
हाल भारतमा मात्रै निर्भर भएका कारण नेपाली गुणस्तरीय चियासमेत सस्तो मूल्यमा बिक्री गरिरहनुपरेको छ । उनका अनुसार भारतीय अक्सनमा भारतीय व्यापारीले नेपाली चिया पुर्‍याउने हो भने त्यसको मूल्य महँगो पर्ने बताइएको छ । साथै, सोही मूल्यमा ४० प्रतिशतदेखि शतप्रतिशतसम्म भन्सार शुल्क तिर्नुपर्ने भएपछि नेपाली चियाको बजार धरापमा परेको व्यवसायीको भनाइ छ ।
सूर्योदय टी एसोसिएसनले प्रधानमन्त्रीको समेत यसअघि नै ध्यानाकर्षण गराइसकेको छ । नेपाल सरकारले बेलैमा यस विषयमा गम्भीर भएर नेपाली चिया निर्यातका लागि आवश्यक पहल गर्न उनीहरूले आग्रह गर्दै आएका छन् ।
भारतको बाटो भएर मात्र विदेश चिया लैजानुपर्ने बाध्यतालाई हटाएर अन्य मुलुकमा समेत सहज रूपमा चिया निर्यात गर्न सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ । नेपाली तयारी चिया हाल भारतको कोलकातास्थित सेन्ट्रल फुड ल्याबमा परीक्षण भएर मात्र जाने गरेको छ । परीक्षणपछि पास भई परीक्षण गरेको चिया ६ महिनासम्म निर्यात गर्न पाउने प्रावधान रहेको जनाइएको छ ।
यसरी परीक्षण गराउँदा निकै महँगो र झन्झटिलो पर्ने बताइएको छ । ल्याबबाट आएको रिपोर्ट व्यवसायीले पाउन १५ दिनसम्म लाग्ने गरेको छ । कहिले भारतीय पक्षले विभिन्न बहाना बनाएर नेपाली चिया भारत लैजान भारतीय भन्सारमै अवरोधसमेत गर्ने गरेको व्यवसायीहरूको भनाइ छ ।
नेपाल सरकारले भारतलगायत विभिन्न देशसँग सरकार–सरकार (जी टु जी) सम्झौता गर्न आवश्यक रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सदस्य तथा एसोसिएसनका पूर्वअध्यक्ष पुनम राईको भनाइ छ । उनले सरकार–सरकार सम्झौता हुन नसके नेपाली चियाको बजार धरापमा पर्ने बताइन् ।
उनका अनुसार भारतले वर्षैपिच्छे कुनै न कुनै बहानामा नेपालको चिया रोकिदिने प्रयास गरिरहेको छ । यस्तो ठूलो समस्या स्थानीय सरकारले मात्र समाधान गर्न नसक्ने सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले बताए । उनले स्थानीय सरकारले स्थानीय चिया किसानहरूको समस्या पहलमा लागिरहेको समेत बताए । तर, विदेश निर्यात गर्ने कुरामा केन्द्र सरकार नै लाग्नुपर्नेमा उनले जोड दिए ।
सूर्याेदय नगरपालिकाले २०७५ सालमै चियासम्बन्धी कार्यविधि निर्माण गरी लागू गरेको छ । तर, सो कार्यविधि समयअनुसार परिमार्जन हुनुपर्ने स्थानीय चिया किसान तथा उद्योगीहरूको माग छ । नेपाल सरकारले नेपाली चिया निर्यातमा चासो राखेर निर्यातमा सहजीकरण गरिदिए हाल नेपालमा पाइरहेको मूल्यभन्दा तेब्बर बढी मूल्यमा समेत बिक्री हुने नेपाली चिया उद्योगी तथा व्यवसायीको भनाइ छ ।
भारतीय व्यापारीले नेपालको चिया तेस्रो मुलुक निर्यात गर्दा निकै नाफा राखेर मात्र बिक्री गर्ने बताइएको छ । यस विषयमा समेत नेपाल सरकारले नेपाली चिया निर्यात गर्न धेरै देशहरूमा पहल गरिदिनुपर्ने माग व्यवसायीको छ ।

प्रतिक्रिया दिनुहोस्