रोजगारी खोज्दै साउनमा साढे ६१ हजार विदेशिए

गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालू आवको पहिलो महिनामा समेत उच्च देखिएको छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रमस्वीकृति लिएका छन् ।
यसमा काठमाडौं उपत्यका बाहिरका ६ स्थानबाट गरिने पुन: श्रमस्वीकृतिको तथ्यांक समावेश गरिएको छैन । गत वर्षको साउनमा भने २५ हजार ४२८ ले श्रमस्वीकृति लिएका थिए । साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम रहेको छ । गत आर्थिक वर्षको साउन र भदौमा श्रमस्वीकृति लिनेको संख्या ४१ हजार ८२८ थियो ।
चालू आवको साउनमा बिदामा आएर पुन: श्रमस्वीकृति लिनेको संख्या १८ हजारभन्दा बढी रहेको विभागका ताहाचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिए । यो महिनामा मेनपावर कम्पनीमार्पmत ३७ हजार ६८० र व्यक्तिगत ५ हजार ७६ श्रमिकले विदेश जान श्रमस्वीकृति लिएको विभागले जनाएको छ । विभागको काठमाडौं कार्यालयका अनुसार पछिल्लो कोरोना संक्रमण प्रभावकारी नभएपछि वैदेशिक रोजगारी जान श्रमस्वीकृति लिनेको संख्या बढेको हो । सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुन: वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो ।
नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगत दुई वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ । अघिल्ला दुई आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीका लागि जाने युवाको संख्या घट्दो दरमा रहेको थियो । गत आवबाट भने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गइरहेको देखिन्छ ।
गत आर्थिक वर्षमा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख ३१ हजार २९० पुगेको थियो । गत वर्ष श्रमस्वीकृति लिनेको संख्या अघिल्ला आवको सोही अवधिको तुलनामा तेब्बर बढी छ । अघिल्लो आवमा १ लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीका लागि जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । यस्तै, आव २०७६/०७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४३३ रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
विभागले नेपालको आन्तरिक रोजगारीको विकल्पका रुपमा रहेको वैदेशिक रोजगारी कोभिड संक्रमणका कारण दुई वर्ष सुस्त रहे पनि हाल कोभिडअघिकै अवस्थाभन्दा अझ सुधार भएको जनाएको छ । विभागले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रमस्वीकृति सेवा पूर्ण अनलाइन हुनु र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रमस्वीकृति लिनेको संख्या बढेको जनाएको छ । श्रमिक स्रोत देश नेपालको आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्य मुलुकमा श्रमिक अभाव भएका कारण पनि श्रमस्वीकृति लिनेको संख्या बढेको विज्ञको भनाइ छ । श्रमस्वीकृति लिएका अधिकांश विदेश जाने गरेका छन् ।