लालपुर्जाका लागि दुई हजार बढीको आवेदन «

लालपुर्जाका लागि दुई हजार बढीको आवेदन

गुल्मीमा जग्गाधनी लालपुर्जाका लागि दुई हजार बढीले आवेदन दिएका छन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा कुल दुई हजार ७३ घरपरिवारले लालपुर्जाका लागि आवेदन दिएका हुन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको तथ्यांकअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका आवेदन परेका छन् ।
भूमिहीन दलित २ सय ७६ घरपरिवार, भूमिहीन सुकुम्बासी २ सय ३१ घरपरिवार र अव्यवस्थित बसोबासी एक हजार ५ सय ६६ घरपरिवारले लालपुर्जाका लागि आवेदन दिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीले बताए । “सबै स्थानीय तहसँग सहकार्य गरेर भूमिहीनलाई जग्गाधनी लालपुर्जा वितरणका लागि निरन्तर काम गरेका छौं,” अध्यक्ष ठकुरीले भने, “हामीले जिल्लाभरका भूमिहीनलाई नछुटाउने गरेर लालपुर्जा वितरण गर्नेछौं ।” उनका अनुसार जिल्लामा अझै केही छुटेका लाभग्राही भएमा आवेदन लिन सकिने छ ।
जिल्लाको रेसुंगा नगरपालिकाबाट कुल ३ सय ७५ घरपरिवारले लालपुर्जाका लागि आवेदन दिएका छन् । जसमा भूमिहीन दलित ४८, भूमिहीन सुकुम्बासी ४४ र अव्यवस्थित बसोबासी २ सय ८३ घरपरिवार रहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जनाएको छ । जिल्लाको मुसिकोट नगरपालिकाबाट कुल २ सय ३६ घरपरिवारले लालपुर्जाका लागि आवेदन पेस गरेका छन् । जसमा भूमिहीन दलित ४५, भूमिहीन सुकुम्बासी १९ र अव्यवस्थित बसोबासी १ सय ७२ घरपरिवार रहेका छन् ।
जिल्लाको मालिका गाउँपालिकाबाट कुल ३ सय ६६ घरपरिवारले जग्गाधनी लालपुर्जाका लागि आवेदन दिएका छन् । जसमा भूमिहीन दलित ३३, भूमिहीन सुकुम्बासी २४ र अव्यवस्थित बसोबासी २ सय ७९ घरपरिवार रहेका छन् । मदाने गाउँपालिकाबाट जम्मा ८७ घरपरिवारको लालपुर्जाका लागि निवेदन आएको छ । जसमा भूमिहीन दलित २०, भूमिहीन सुकुम्बासी १३ र अव्यवस्थित बसोबासी ५४ घरपरिवार रहेका छन् । त्यस्तै धुर्कोट गाउँपालिकाबाट भूमिहीन दलित ४५, भूमिहीन सुकुम्बासी ४ र अव्यवस्थित बसोबासी २ सय ३७ गरेर २ सय ८६ घरपरिवारले लालपुर्जाका लागि आवेदन दिएका छन् ।
इस्मा गाउँपालिकाबाट भूमिहीन दलित १५, भूमिहीन सुकुम्बासी २५ र अव्यवस्थित बसोबासी १९१ गरी जम्मा २३१ घरपरिवारले निवेदन पेस गरेका छन् । गुल्मीदरबार गाउँपालिकाबाट भूमिहीन दलित १०, भूमिहीन सुकुम्बासी १९ र अव्यवस्थित बसोबासी १७ गरेर जम्मा ४६ घरपरिवारले मात्र लालपुर्जाका लागि आवेदन दिएका छन् । छत्रकोट गाउँपालिकाबाट भूिमहीन दलित ८, भूमिहीन सुकुम्बासी १३ र अव्यवस्थित बसोबासी १ सय २८ गरि १ सय ४९ घरपरिवारले लालपुर्जाका लागि आवेदन दिएका छन् ।
त्यस्तै जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरेर जम्मा १ सय ८५ घरपरिवार, चन्द्रकोट गाउँपालिकाबाट जम्मा ८५ घरपरिवार, सत्यवती गाउँपालिकाबाट ५८ घरपरिवार र कालिगण्डकी गाउँपालिकाबाट जम्मा २३ घरपरिवारले जग्गाधनी लालपुर्जाका लागि आवेदन दिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका सदस्य तिलाचन पाण्डेले जानकारी दिए । आएका आवेदनमध्ये जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका आवेदन प्रक्रिया पूरा गरेर जग्गा पहिचानका लागि मालपोत कार्यालय गुल्मीमा पठाइसकेको सदस्य पाण्डेले बताए । उनका अनुसार जग्गा पहिचानपछि जग्गा नापजाँचका लागि सूचना प्रकाशन गरी प्राविधिकमार्फत काम अगाडि बढाइनेछ । त्यसपछि दाबी विरोधको सूचना प्रकाशन गरी निस्सा प्रदान गर्ने र लालपुर्जा वितरण गरिने छ ।
यसैगरी अन्य स्थानीय तहबाट प्राप्त आवेदनलाई पनि सोही प्रक्रियामार्फत अगाडि बढाइने कार्यालयले जनाएको छ । जिल्ला समिति गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहसँग समस्या समाधानका लागि यसअघि अन्तरसंवाद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्