Logo

विदेशबाट फर्किएर पशुपालनमा

विदेशबाट फर्किएर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका कुलप्रसाद पुर्जाले बाख्रा पालन गरेका छन् । ४६ बर्षिय पुर्जाले रोजगारको सिलसिलामा १२ वर्षसम्म मलेसियामा पसिना बगाएर गाउँ फर्किएसँगै पशुपालनमा लागेको हुन् ।
पुर्जाले प्रवासबाट गाउँ फर्किएर पशुपालन पेसा मात्रै अंगालेका छैनन्, राजनीतिलाई समेत सँगसँगै अगाडी बढाएका छन् । दोवाको वेशीमा ‘दोवा वेशी बाख्रा पालन फर्म’ स्थापना गरेका पुर्जा निवर्तमान वडा सदस्यसमेत हुन् ।
वडा सदस्यमा निर्वाचित भएर पाँच वर्षसम्म सामाजिक कार्यहरुमा सक्रिय बनेका पुर्जा हाल नेकपा एमाले दोवाको वडा कमिटीको अध्यक्ष समेत छन् । वडा सदस्यको कार्यकाल सकिएपछि उनले अधिकांश समय पाख्रा पालनमै खर्चिन थालेका छन् ।
‘‘विदेशमा गएर पसिना बगाएँ, तर परिवारको घरखर्चको जोहो गर्ने बाहेक केही भएन, भनेजस्तो तलब नपाइने भएपछि विदेश छाडेर अब आफ्नै गाउँमै केही गरौं भन्ने अठोटले बाख्रा पालनमा लागेको हुँ” पुर्जाले भने । २ वटा पैंचो बाख्रा लिएर बाख्रापालन सुरु गरेका उनको फर्ममा अहिले ६० वटाको हाराहारीमा बाख्रा छन् । एक वर्षभित्र बाख्राको संख्या १०० पुर्‍याउने पुर्जाको योजना छ । एक वर्षमा १ लाख बराबरका खसी, बोका बिक्री भएको बताउँदै पुर्जाले फर्ममबाट उत्पादन भएका बोका र बाख्राका लागि बजारको अभाब नभएको र माग पुर्‍याउन नसकेको बताए ।
दोवालाई बाख्रा पालनको पकेट क्षेत्रसमेत घोषणा गरिएको छ । पुर्जाको हजुरबुबाले परम्परागत रुपमा भेडा पालन गर्दै आएका थिए । त्यस समयमा उत्पादित भेडाहरुको बजारीकरणमा समस्या हुने गरेको स्मरण गर्दै पुर्जाले अहिले भेडा, बाख्रा पालनका लागि बजारको अभाब नहुने अनुभव सुनाए ।
फर्ममा स्थानीय र उन्नत जातका बाख्राको पालन हुने गरेको छ । बाख्रा पालनसँगै भैसी पालनसमेत गर्दै आएका पुर्जाको फर्ममा ३ वटा भैंसी छन् । उनले बेशी नजिकैको सुनारीमा वार्षिक २० हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर बंगुर र माछा पालनसमेत गर्ने तयारी गरेका छन् । पशुपालनको पकेट क्षेत्र रहेको दोवामा धेरै कृषकले व्यवसायिक बाख्रा पालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्