एमालेसँग मिल्ने कल्पना पनि गर्न सकिँदैन : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।
ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सह्य नहुने उनको चेतावनी थियो । अध्यक्ष नेपालले आफूलाई अपराधि घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्विकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह समेत गरे । उनले एमालेसँग जाने कल्पना समेत गर्न नसकिने पटकपटक दोहोर्याए ।
अध्यक्ष नेपालले विचार मिल्ने, कुरा मिल्ने बामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाइरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको बताए । उनले स्थानीय तहको चुनावमा भन्दा पनि थप सफलता हासिल गर्नका लागि आफ्नो पार्टीले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन कायमै राखेर अघि बढने निर्णय लिएको उल्लेख गरे । अध्यक्ष नेपालले भने, “हामी गठबन्धन दलहरुसँग अहिले पनि हातेमालो गर्दै अघि बढने पक्षमा रहेका छौं । हाम्रो पार्टीले बामपन्थी दलहरुलाई एकतावद्ध बनाउनका लागि हामीसँग कुरा मिल्ने, विचार मिल्नेहरुसँग एकतावद्ध हुनका लागि हामीले हात अगाडि बढाएका छौं । हामी अरुसँग विलिन हुने होइन । हाम्रो विरोधीहरुले कुप्रचार गरिरहेका छन् एमालेमा विलिन हुने भनेर । त्यसमा कुनै सत्यता छैन । हाम्रो पार्टी विचारको आधारमा उभिएको छ । हाम्रो पार्टी आदर्शको आधारमा उभिएको छ ।”
अध्यक्ष नेपालले पार्टी विभाजन भएको बेला गएका १० भाइहरुको एमालेमा बिजोग भइरहेको टिप्पणी पनि गरे । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरुले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको उनको भनाइ थियो ।