राउण्ड टेबल नेपालद्वारा विद्यालयको भवन निर्माण

राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभुत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ ।
राउण्ड टेबलले सो विद्यालयमा बहुबर्ष योजना अन्र्तगत २ करोड बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाई दिएको हो । बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ स्थित विद्यालय आयोजित कार्यक्रममा राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले ४ कोठे भवनको उद्घाटन गरेका हुन् । विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले यूरोपस्थित राउण्ड टेबल यूरो ११ सँग सहकार्य गर्दै सो विद्यालयमा ४० लाखको लगानीमा ४ कोठे पक्की भवन थप गरेको हो । राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै सो विद्यालयमा यसअघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ । विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको छ । अभिभावकत्व ग्रहण गरिएयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए ।
थप गरिएको ४ कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले सो विद्यालयमा २० वटा कोठको निर्माण सम्पन्न गरिसकेको छ । निर्माण गरिएको सोही कोठाहरुबाट विद्यालयको प्रशासनिक काम कारवाहीका साथै विद्यार्थीहरुको अध्ययन अध्यापन हुने गरेको छ । त्यति मात्र नभई विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्वि गर्न समेत राउण्ड टेबल नेपालले भुमिका निर्वाह गर्दै आएको छ ।
यसैबीच मोेरङको रंगेली नगरपालिका ७ मा रहेको आदर्श निम्न माध्यमिक विद्यालयलाई राउण्ड टेवल ५ द्वारा ४ वटा कोठा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
राउण्ड टेवल नेपालका अध्यक्ष आनन्द बाहेती र मेयर दिलिप बगडियाले नवनिर्मित कोठा हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा मेयर बगडियाले सो विद्यालयमा अरु कोठा र अंग्रेजी शिक्षा दिने प्रतिवद्वता जनाएका छन् ।