काठमाडौं माहानगरमा फोहोर उठ्न नसक्नु लज्जास्पद: विश्वप्रकाश शर्मा «

काठमाडौं माहानगरमा फोहोर उठ्न नसक्नु लज्जास्पद: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् । उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले फोहोर समस्याको दीर्घकालिन समाधानका लागि सबै राजनीतिक दलहरूले साझा ढंगले सोच्नुपर्ने बताए ।
महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरूको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘शासनहरू बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौं । दलहरूबाट फेरि स्वतन्त्रमा पनि पुग्छौं । स्वतन्त्रहरू कहीँ जिम्मेवारीमा । कहीँ दलहरू जिम्मेवारीमा । तिन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । मैले अपील गर्नैपर्छ, भन्नैपर्छ, विहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको सम्म फोहोर उठाउन तीन/तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ । काठमाडौं जस्तो शहरमा यो फोहोर उठाउने कुरा र यसको दीर्घकालिन समाधानको बारेमा सबै राजनीतिक दलले साझा ढंगले सोच्ने कुरा । निर्वाचित भएका महानगरका मेयर बालेनलाई सम्पूर्ण रुपले साथ दिएर बल पुर्‍याउने कुरा, अनि त्यहाँ बञ्चरेडाँडाँका नागरिकले मागेका सामान्य कुराहरूलाई राज्यले नसुन्नुपर्ने, हामी दलहरूले नबुझ्नुपर्ने, तिन तहको सरकारले सम्बोधन गर्न नपर्ने भन्ने होइन । एकाइसौं शताब्दीमा आँगनको फोहोर कसरी सफा गर्ने भन्ने विषय होइन । एकाइसौं शताब्दीमा यो विषयलाई सम्बोधन गर्नलाई हामी जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहेँ स्थानिय तहबाट यस्तो विषयलाई सम्बोधन गर्नुपर्छ ।’
उनले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्