Logo

विद्युत् महसुल अब अनलाइनबाटै

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महसुल भुक्तानी सेवा सुरु गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बुधबारबाट अनलाइन प्रविधिबाट महसुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिए ।
वितरण केन्द्रमै आएर महसुल बुझाउँदै आएका ग्राहकले अनलाइन प्रविधिमार्फत अब ई–सेवा, महालक्ष्मी विकास बैंक लिमिटेड, प्रभु बैंक, हिमालयन बैंक, पेय प्वाइन्ट, सिटी एक्सप्रेस, नेपाल इन्भेस्टमेन्ट बैंकलगायत बैंक तथा वित्तीय संस्थाबाट विद्युत् महसुल बुझाउन सकिने यादवले बताए ।
अनलाइन प्रबिधिबाट महसुल भुक्तानी गर्दा महसुल रकमबाहेक ग्राहकलाई थप कुनै किसिमको रकम लाग्ने छैन । वितरण केन्द्र पुगेर महसुल बझाउन आउँदा दैनिकजसो ग्राहकको भिड लाग्दै आएको छ । अनलाइन प्रविधिबाट महसुल भुक्तानी सेवा सुरु भएपछि अब ग्राहकले अनावश्यक सास्ती बेहोर्नु नपर्ने विश्वास गरिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानअन्तर्गत ४५ हजार ग्राहक छन् ।
यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महसुल नबुझाउने १४० जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ । बक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत्लाइन काट्ने अभियान सुरु गरिएको कार्यालयले जनाएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले ५० हजार रुपैयाँभन्दा बढी बक्यौता बाँकी रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेका हुन् । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक–पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस्