आधारभूत तहमा स्थानीय पाठ्यक्रम «

आधारभूत तहमा स्थानीय पाठ्यक्रम

गुल्मीको मालिका गाउँपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । चालू शैक्षिक सत्रको तयारीमा आगामी शैक्षिक सत्रदेखि आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।
स्थानीय वस्तुचित्र प्रष्ट झल्कने गरेर स्थानीय पाठ्यक्रम लागू गर्नका लागि मस्यौदा प्रस्तुतीकरण र सुझाव संकलन गोष्ठी गरिएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए । “हामीले स्थानीयस्तरको वस्तुचित्रलाई स्पष्ट पाठ्यपुस्तकमार्फत बालबालिकालाई चिनाउने कोसिस गरेका छौं,” गाउँपालिका अध्यक्ष अर्यालले भने, “ग्रामीण भेगका महत्वपूर्ण कुरा नछुटाउन सरोकारवालासँग गोष्ठी गरिएको हो ।” गाउँपालिकाका अध्यक्ष अर्यालले मस्यौदामा छुटेका कुरा समेटेर उत्कृष्ट पाठ्यक्रम लागू हुने स्पष्ट पारे । आगामी शैक्षिक सत्रको सुरुवातमा सबै विद्यार्थीको हातहातमा स्थानीय पाठ्यपुस्तक पुग्ने उनले बताएका छन् ।

गाउँपालिकाले शिक्षा शाखा प्रमुखको संयोजकत्वकोमा पाँच सदस्यीय मस्यौदा तयार समिति गठन गरिएको थियो । समितिले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा स्थानीय कला, संस्कृति, रीतिरिवाज, चालचलन, मेलापर्व, कृषि, पशुपालन, पर्यटन क्षेत्र, प्राविधिक शिक्षा, गाउँपालिकाको भूगोल, चिनारी, परम्परागत महत्व झल्काउने वस्तु र समाजमा योगदान गर्ने व्यक्तिलगायत सबै समेटेर पाठ्यपुस्तक निर्माण गर्ने पाठ्यक्रम तय गरेको छ । त्यसमा सरोकारवालाले दिएको सुझाव समेटेर अझै लाभदायी पाठ्यक्रम र त्यहीअनुरुप पाठ्यपुस्तक तय गर्ने मालिका गाउँपालिकाले जनाएको छ ।
समितिले गरेको प्रस्तुतीकरणमा सरोकारवालाले विभिन्न प्रकारका टिप्पणी र सुझाव पेस गरेका थिए । गोष्ठीको प्रमुख अतिथिको रूपमा स्थानीय तहको पहिलो कार्यकालमा स्थानीय पाठ्यक्रम लागू गरेको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले लुम्बिनी प्रदेशमा पहिलो शिक्षा ऐन आफूहरूले बनाएको, स्थानीय शिक्षकलाई नै जिम्मा दिएको, व्यावहारिक शिक्षालाई जोड दिएको र स्थानीय पाठ्यक्रमको प्रभाव निकै रहेको बताएका छन् ।
एकीकृत पाठ्यक्रमको उद्देश्यअनुरुप अध्यापन र अध्ययन हुन आवश्यक रहेको धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलले बताए । “पाठ्यपुस्तक लेख्ने कुरामा सबै समेट्न आवश्यक रहेकाले धेरै मेहनत गरेर सबै जुट्नु आवश्यक छ,” प्रमुख टिप्णीकर्ता समेत रहेका पोखरेलले भने, “स्थानीय वस्तुचित्र स्पष्टसँग बुझिने गरेर पाठ्यपुस्तक निर्माण हुनुपर्छ ।” पोखरेलले सिंगो समाज र सबै बालबालिकालाई नैतिकवान् बनाउन स्थानीय पाठ्यपुस्तकको आवश्यक रहेकोसमेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्