नेपाल म्यानमार चेम्बरको अध्यक्षमा अग्रवाल «

नेपाल म्यानमार चेम्बरको अध्यक्षमा अग्रवाल

नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
बुधबार राजधानीमा सम्पन्न संघको १२औं साधारणसभाले अग्रवाललाई अध्यक्षमा पुन: निर्वाचित गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा रतनलाल केडिया र उपाध्यक्षमा मोहनवीर थापा निर्वाचित भएका छन् ।
यस्तै, महासचिवमा सुभासकाजी श्रेष्ठ, सचिवमा अमृत खड्का तथा कोषाध्यक्षमा लक्ष्मीप्रसाद सुवेदी निर्वाचित भए । संघको सदस्यहरुमा पवनकुमार अग्रवाल, मोहनलाल दारुका, रामचन्द्र खेतान, राज लामा, प्रदीपकुमार रुंगटा, सृजना सुवेदी र मुकुन्दप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । संघका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
कार्यक्रममा नेपालका लागि म्यानमारका राजदूत यु सेन ओले म्यानमारको यांगुनबाट नेपाल उडान गर्ने तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए ।
साधारणसभालाई सम्बोधन गर्दै उनले यांगुननदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म उडान सञ्चालनका लागि म्यानमार सरकारलाई प्रस्ताव पठाइएको बताए ।
म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिशचन्द्र घिमिरेले दुई देशबीच सांस्कृतिक, व्यापारिक र भाषिक सम्बन्ध विकास गर्ने प्रचुर सम्भावना रहेको बताए । उनले म्यानमारमा रहेका नेपाली दोस्रो ठूलो डायस्पोरा भएको र नेपालको सन्दर्भमा सफ्ट पावरको रुपमा काम गर्न सक्ने बताए । निर्यातका लागि जडिबुटी र आयुर्वेदिक औषधि प्रमुख उत्पादन हुन सक्ने उनको भनाइ छ ।
संघले व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न दुवै देशका सरकारलाई सीधा हवाई सम्पर्क स्थापना गर्न आग्रह गरेको छ । “हामी नेपाल र म्यानमारको व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ” संघका अध्यक्ष शिवकुमार अग्रवालले भने, “दुई देशबीच सिधा हवाई सम्पर्क हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्