‘लघु, घरेलु तथा साना उद्योग प्रदेश सरकारको प्राथमिकतामा’ «

‘लघु, घरेलु तथा साना उद्योग प्रदेश सरकारको प्राथमिकतामा’

बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई माथि उठाउने र आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनबाटै आत्मनिर्भर बनाउन सघाउने यस्ता उद्योगहरुका लागि बागमती सरकार सदैव साथमा रहेको बताए ।
चप्पलदेखि टोपीसम्म, लत्ता कपडादेखि दैनिक उपभोग्य वस्तुसम्म लघु घरेलु तथा साना उद्योगका माध्यमबाट आत्मनिर्भर हुन सक्ने सम्भावना प्रशस्तै रहेको भन्दै मन्त्री श्रेष्ठले रोजगारी र आत्मनिर्भरका हिसाबले यो क्षेत्रका लागि आफूले मन्त्रालय सम्हाल्दासम्म दत्तचित्त भएर सहयोग गर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग जोडिएर व्यवसायीलाई सहजता प्रदान गर्ने र उद्यमशीलताको विकास गर्ने कुरामा लागिपर्ने प्रतिवद्घता पनि उनले व्यक्त गरे ।
ललितपुरको लुभु र ठैवमा टेक्सटाइल, भक्तपुरमा काष्ठकला, पाटनमा ललितकता र धातुकलालगायतका कुराले अर्बौं रुपैयाँको आयआर्जनमा भूमिका खेलेको भन्दै उनले घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रवद्र्घन गर्नका लागि प्रदेशको राजधानी हेटौंडामा चारदेखि पाँच करोडको लागतमा गत वर्षदेखि अत्याधुनिक बिक्री कक्ष निर्माण भइरहेको बताए ।
घरेलु सामानको प्रवद्र्घनका लागि चितवन, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा आधुनिक रुपमा प्रदर्शनी कक्ष निर्माण गर्ने कार्यक्रम राखेको भन्दै उनले प्रदेश सरकारसँग हातेमालो गरेर हिँड्न महासंघलाई आग्रह गरे ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए । महासंघको पालिकादेखि केन्द्रिय सरकारसम्म नेटवर्क रहेको भन्दै अहिले दुई चार जनाको संस्था खडा गरेर प्रदेशका कार्यक्रमहरुको दुरुपयोग भएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्यक्रमका लागि कार्यक्रम नगर्न आग्रह गरे ।
लघु, घरेलु तथा साना उद्योगहरुको उच्चतम सदुपयोग र प्रवद्र्घनबाट अर्थतन्त्रलाई पनि समृद्घ बनाउने दिशामा महासंघ बागमती प्रदेशसँग सहकार्य गरी अगाडि बढ्न चाहेको उनले बताए ।
महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले वास्तवमा समानुपातिक विकासका लागि र उत्पादनको समानुपातिक वितरणका लागि प्रदेश सरकारको जरुरी रहेको बताए । प्रदेश आफ्नै भौगोलिक दायरामा रहेको भन्दै त्यसका केही सकारात्मक सम्भावनाका अवसरहरु त्यहाँ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्