चालू आवमै सम्झौताको तयारी «

चालू आवमै सम्झौताको तयारी

चालू आर्थिक वर्षभित्र नै अरनिको राजमार्गअन्तर्गत ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट’ निर्माणका लागि लगानी सम्झौता हुने भएको छ । जापान सहयोग नियोग (जाईका)को अध्ययनमा तीनकुनेदेखि जडिबुटीसम्म निर्माण हुने ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट’को लागि १ अन्डरपास र २ फ्लाइओभर निर्माण गर्न प्रस्ताव आह्वान भएको थियो । सोही डिजाइनलाई सडक विभागले उपयुक्त ठहर्‍याएसँगै आयोजनाको लगानी सम्झौताका लागि तयारी अगाडि बढेको हो । “कोटेश्वर–जडिबुटी खण्डमा ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट’ अन्तर्गत जाईकाले दिएको प्रतिवेदनअनुसार तयार पारिएको परियोजना तयारी अध्ययनमा १ अन्डरपास र २ फ्लाइओभर प्रस्ताव गरिएको थियो,” सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, “सोही प्रस्तावअनुसार हाल जाईकाको टोलीले साइटको भिजिट गरिरहेको छ ।”
यही मोडलमा अन्डरपास र फ्लाइओभर निर्माणका लागि हाल जाईकाको प्राविधिक ५ सदस्यीय टोली काठमाडौं आएको छ । टोलीले सरोकारवाला निकायहरु काठमाडौं महानगरपालिका र नागरिक उड्डयन प्राधिकरण तथा सडक विभागसँग छलफल गरिरहेको छ । सुरुङमार्ग, नागरिक उड्डयन र फ्लाइओभरका विज्ञहरुले साइट फिजिट गरी यसको लागि गर्नुपर्ने आन्तरिक तयारी र अध्ययन गरिरहेको महानिर्देशक थापाले बताए । दीर्घकालीन योजनाका लागि जाईकाले १ अन्डरपास र २ फ्लाइओभर निर्माण गर्न प्रस्ताव गरेको थियो । जाईकाले परियोजना तयारी अध्ययन गरेर यसअघि नै प्रतिवेदन दिएको थियो । कार्यतालिकाअनुसार परियोजनाको कामले गति लिए यही आर्थिक वर्षभित्रै लगानी सम्झौता भएर परियोजनाले गति लिने महानिर्देशक थापाले बताए । उनले भने, “सरोकारवाला सबै निकायसँग छलफल तथा आयोजनाको अध्ययन भइरहेको छ । यही गतिमा काम भए चालू आर्थिक वर्षमा लगानीका लागि हस्ताक्षर भएर परियोजना निर्माणको काम अगाडि बढ्नेछ ।”
जाईकाले गरेको अध्ययनअनुसार तीनकुनेमा फ्लाइओभर निर्माण गरी त्रिभुवन विमानस्थलको सिमाना हुँदै जडिबुटीसम्म अन्डरपास निर्माण गर्ने र पुन: जडिबुटीमा फ्लाइओभर निर्माण गर्ने प्रस्ताव छ । जाईकाले पठाएको ५ सदस्यीय टोलीले सारोकारवाला निकायसँग छलफल गर्नुका साथै स्थलगत अध्ययन गरिरहेको छ । यसरी निर्माण हुने तीनकुने–जडिबुटी सडक खण्डमा निरन्तर सवारी सुचारु हुनेछ । यसको कुल लम्बाइ १८ सय ६० मिटर हुनेछ भने तीनकुनेमा ५ सय १० मिटर फ्लाइओभर हुनेछ । अन्डरपास ६ सय ४० मिटर हुनेछ । बीचमा अंग्रेजी अक्षर यु आकारको २ सय ५० मिटरको सडक खण्ड हुने परामर्शदाता जापानी कम्पनी ओरियन्टलले अध्ययन गरेको प्रस्तावमा भनिएको छ । परामर्शदाता कम्पनीले अन्य विकल्पमा पनि सो क्षेत्रको अध्ययन गरेर प्रस्ताव तयार गरेको भए पनि सो प्रस्ताव विभागले उपयुक्त ठहर्‍याएको महानिर्देशक थापाको भनाइ छ ।
विमानस्थलको धावनमार्ग मुनी सुरुङमार्ग निर्माण गर्नुपर्ने भएकाले प्राविधिक कठिनाइका बाबजुद आयोजना अगाडि बढाउनुपर्ने चुनौती रहेको महानिर्देशक थापाको भनाइ छ । उनले भने, “धावनमार्गभन्दा मुनि सुरुङ खन्ने काम र निर्माणको कार्य राति गर्नुपर्ने भएकाले केही आर्थिक दायित्व वृद्धि हुने अनुमान जाईकाको छ ।”
‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट’ परियोजनामा १२ देखि १६ अर्ब रुपैयाँ लगानी आवश्यक हुने देखिएको छ । जाईकाले सो खण्डको अध्ययन भने अनुदानमा गरेको हो । परियोजनाको लगानी ऋण वा अनुदानमा उपलब्ध हुने भन्नेबारेमा भने आगामी मार्चमा हुने जाईका र नेपाल बीचको छलफलबाट तय हुने महानिर्देशक थापाको भनाइ छ ।
हाल सो सडक खण्डमा दैनिक देखिएको सवारी चाप समाधानको अल्पकालीन योजनाअन्तर्गत डेडिकेटेड लेन बनाएर दायाँ–बायाँ दुवैतर्फ सडक विस्तार गरिएको छ । वार्षिक रूपमा सवारी वृद्धि भइरहेकाले सो सडक खण्डको विस्तार तथा वैकल्पिक मार्ग निर्माण गर्दा रिङरोडको चौडाइ पनि विस्तार गरेर सुरुङमार्ग निर्माणको योजना अगाडि सारिएको हो । यसले गर्दा काठमाडौंबाटभक्तपुर, ललितपुर जाने र काठमाडौं आउने सवारीका लागि सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्