पूर्वतयारीमै सकियो झन्डै ६ अर्ब «

पूर्वतयारीमै सकियो झन्डै ६ अर्ब

मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले एमसीसी अन्तर्गतका परियोजना निर्माणका लागि २०२३ अगस्टबाट सार्वजनिक टेन्डरमा जाने बताएको छ । पूर्वतयारीका कामहरु सम्पन्न भएपछि निर्माण कार्यमा कुनै अवरोध नभई निर्धारित समयमै परियोजना सक्ने गरी काम गर्ने एमसीएले जनाएको छ । परियोजना कार्यान्वयनमा जानू अगाडिका पूर्वतयारीका लागि झन्डै ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
एमसीसी आयोजनाका लागि कुल ६३ करोड अमेरिकी डलर खर्च हुनेछ । ५० करोड अमेरिकी डलर अमेरिकी सरकार अर्थात् एमसीसी र बाँकी रहेको १३ करोड डलर नेपाल सरकारले लगानी गर्नेछ । कुल लगानीमध्ये पूर्वतयारीका लागि १२.७८ प्रतिशत र ८७.२२ प्रतिशत कार्यान्वयन चरणमा खर्च हुनेछ । एमसीसी र नेपाल सरकारबीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो । गत फागुन ११ मा संसद्बाट अनुमोदन भएपछि यस परियोजनाको काम अगाडि बढाउन बाटो खुलेको हो ।
एमसीसी अन्तर्गतका परियोजना ५ वर्षभित्र सकिसक्नुपर्ने गरी सम्झौता भए पनि अनुमोदन भएदेखि पाँच वर्ष वा कार्यान्वयनमा गएको समयदेखि पाँच वर्ष भन्ने अन्योल थियो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्कबहादुर विष्टले कार्यान्वयनमा गएको समयदेखि गणना सुरू हुने प्रष्ट पारेका छन् । उनका अनुसार हालको पूर्वतयारीको समयलाई गणना गरिने छैन । निर्माण सुरु गरेको पाँच वर्ष अर्थात् २०२८ अगस्टमा काम पूरा हुनेछ । सम्झौतामा नै समयमै काम सम्पन्न नभए रकम फिर्ता जाने शर्त भएकोले कुनै पनि हालतमा परियोजना सम्पन्न गर्नुपर्ने चुनौती एमसीए नेपाललाई छ ।
आयोजना अन्तर्गत मुख्य गरी प्रसारणलाइन र सडक निर्माण रहेका छन् । ३ सय १५ किलोमिटर चार सय (केभी) प्रसारणलाइन निर्माण हुनेछ भने ७७ किलोमिटर सडक खण्डको आधुनिक रुपमा मर्मत हुने कार्यकारी अधिकृत विष्टले बिहीबार पत्रकारहरुलाई जानकारी दिए । पूर्वतयारीमा जग्गा प्राप्ति लगायतका जटिल काम सकिने र निर्माणको काम चाँडै सकिने उनको दाबी छ । अहिले पुनर्वास कार्ययोजना, प्रसारणलाइन रेखाङ्कनमा आएका गुनासोको सम्बोधन, जग्गा अधिग्रहण, रेखाङ्कनमा पर्ने वनको रुख कटानका लागि अनुमति, सडक मर्मत सम्बन्धी पूर्व तयारीका कामहरु, निर्माण कार्यलाई ठेक्कामा दिन आवश्यक कागजातको तयारी जस्ता कार्यहरु भइरहेका छन् ।
यो प्रसारणलाइन लप्सीफेदीबाट रातमाटे हुँदै बुटवलबाट भारतीय सीमासम्म जोडिनेछ । प्रसारणलाइन ५ खण्डमा विभाजन गरिएको छ । लप्सीफेदी–रातमाटे पहिलो खण्ड ५९ किलोमिटर रहेको छ । प्रसारणलाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर, परासी हँुदै जानेछ । निर्माणपछि ढल्केबर–मुजफ्फरपुरपछिको दोस्रो अन्तरदेशीय प्रसारणलाइन हुनेछ । एमसीसी अन्तर्गतका परियोजना निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निजी कम्पनीले प्रतिस्पर्धा गर्न पाउनेछन् । परामर्शका लागि सरकारी कम्पनी सहभागी बन्न पाउने भए पनि निर्माणका लागि टेन्डरमा जान पाउनेछैनन् । इरान, भेनेजुएला, उत्तर कोरियाजस्ता देशका कम्पनीले बिडमा भाग लिन नपाउने शर्त रहेको कार्यकारी अधिकृत विष्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्