कल बाइपास के हो ? «

कल बाइपास के हो ?

वीरगन्ज महानगरपालिका–२ स्थित कोठा भाडामा लिई गैरकानुनी ढंगबाट राजस्व चुहावट गर्दै कल बाइपास सेन्टर सञ्चालन गरी अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आइरहेका भारतको उत्तर प्रदेशका ३८ वर्षीय इरफान सुफियान खानलाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा साइबर ब्युरोको संयुक्त टोलीले मंगलबार पक्राउ गरेको जनाएको छ । उक्त कुरा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीका अनुसार प्राप्त सूचनाका आधारमा खानलाई पक्राउ गरिएको हो । यस्ता साइबर क्राइम र कल बाइपासका घटना भने नेपालको लागि नयाँचाहिँ पक्कै होइन, पहिला पनि हुने गरेका थिए ।
प्रहरीले खानतलासी गर्दा आरोपित खानको कोठाबाट कल बाइपास गर्न प्रयोग हुने ३२ पोर्टको डिनस्टप कम्पनीको भीओआईईपी गेटवे, नेपाल टेलिकमको ४० वटा सिमकार्ड र एनसेलको ५८ ओटा सिमकार्ड, दुई थान इन्टरनेट राउटर तथा इन्भर्टर फेला परेको बताएको छ । त्यसका आधारमा खानलाई नियन्त्रणमा लिई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यथार्थमा, कल बाइपास भनेको सीधै आउनुपर्ने कललाई बीचमा छिरेर अर्कै बाटो प्रयोग गरी पठाउनु हो । सामान्यतया अन्तर्राष्ट्रिय कल नेपाल आउनका लागि तीन पक्ष संलग्न हुन्छन् । पहिलो कल पठाउने निकाय, दोस्रो क्यारियर पठाएको कललाई बोक्ने माध्यम र तेस्रो दूरसञ्चार सेवाप्रदायक (नेपाल टेलिकम, एनसेल, स्मार्ट आदि) । यसरी आउने कललाई जोड्ने काम गेटवे (एउटा नेटवर्कदेखि अर्काे नेटवर्क जोड्ने काम) ले गर्ने गर्छ । नेपाल टेलिकम, एनसेल, स्मार्टलगायतले अन्तर्राष्ट्रिय एसएमएस र कलहरू नेपाल भिœयाउने कामका लागि भनेर नेपालमा दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स लिएका छन् ।
कल पठाउने संस्थाबाट नेपालका दूरसञ्चार सेवाप्रदायकको सर्भरमा टर्मिनेट भएर कल तथा एसएमएस आउने प्रक्रियालाई वैधानिक मानिन्छ । तर, बीचमा बसेर अमुक व्यक्ति/समूहले बाहिरबाट आएको कललाई आफ्नो गेटवेको रुट प्रयोग गराई कल डाइभर्ट/बाइपास गराई अन्तर्राष्ट्रिय कललाई लोकल कलका रूपमा प्रयोगकर्ताको सिस्टमा/नम्बरमा पुर्‍याइरहेका हुन्छन् र देशलाई चुनौती दिई घाटा पुर्‍याएका हुन्छन् । साथै, व्यक्तिगत फाइदा लिइरहेका हुन्छन् ।
लोकल नम्बरबाट आएको कल सस्तो हुन्छ भने बाहिरबाट आएको कल महँगो हुने गर्छ । सेवाप्रदायकले पनि त्यसैअनुसारको शुल्क असुल्ने गर्छन् । जस्तै— अमेरिकाबाट सोझै एनसेलको सर्भर हुँदै एसएमएस आयो भने कम्पनीले प्रतिएसएमएस ७ रुपैयाँ आम्दानी गर्छ । तर, बीचमा भीओआईपी (भोइस ओभर इन्टरनेट प्रोटोकल) वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) अथवा दूरसञ्चारप्रदायकका सिमकार्ड प्रयोग गरेर अवैध बाटोमार्फत बाइपास गरी लोकल नम्बरबाट कल पठाउँदा १ रुपैयाँ मात्रै आम्दानी हुन्छ । यसरी बीचमा बसेर बाइपास गर्ने समूह/व्यक्तिले अबैध रूपमा सोझै ६ रुपैयाँ आम्दानी गर्ने गर्छन् । — सूर्य ढकाल

प्रतिक्रिया दिनुहोस्