नागरिकता बिधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति «

नागरिकता बिधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता बिधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् ।
अध्यक्ष ओलीले संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको सो गम्भीर महत्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले सो निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसदमा सो विधेयकको विषयमा बहस समेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’को रुपमा प्रस्तुत गरेको जिकीर समेत गरे ।
संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफ्नो बहुमतको तागत देखाइदिने भन्दै सो विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाई थियो । सत्तारुढ गठबन्धनको सो निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उहाँले त्यस्ताहरूको हातमा देश चल्न नसक्ने बताए ।
अध्यक्ष ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको दाबीसमेत गरे । प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको कांग्रेस आचरण, नीति र व्यवहार सबै हिसावले लोकतान्त्रिक हुनै नसक्ने उहाँको तर्क थियो । ओलीले विगतमा पनि कांग्रेसले देशविरोधी कार्य गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप लगाए । उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी भएकाले त्यसका बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको दोहोर्‍याए । अध्यक्ष ओलीले भने, ‘कांग्रेस अब कहीँकतै लोकतान्त्रिक पार्टी रहेन । कांग्रेसले लोकतान्त्रिक पार्टी हुँ भन्न अव बेकार छ । कांग्रेस प्रचण्डको कार्यकर्ता हो । अब अरू पार्टीहरूको चर्चा नगरौं । समय किन खर्च गर्नु ? कांग्रेसमा लोकतान्त्रिक आचरण, नीति, सिद्धान्त, व्यवहार केही पनि रहेन । इतिहासमा पनि काँग्रेसले पटकपटक अलोकतान्त्रिक क्रियाकलाप गरेर आएको पार्टी हो । देश हितका विरुद्ध अनेक क्रियाकलाप गरेर आएको पार्टी हो । त्यो काँग्रेस सुध्रियला कि । अनुभवबाट सिक्ला कि भनेको । झनझन कांग्रेस बिग्रदै गएको छ । माओवादी पार्टी भने प्रचण्ड एण्ड कम्पनी हो । यसले कुनै पार्टीको रुपनै लिएको छैन । र, कांग्रेस प्रचण्ड एण्ड कम्पनीको पछिपछि त्यही नीतिमा लुरुलुरु हिँडी राखेको छ । त्यही व्यवहार र आचरणमा ।’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई बर्बाद पार्ने भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने पटकपटक दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्