कालिगण्डकीद्वारा २० युनिट बिजुली नि:शुल्क «

कालिगण्डकीद्वारा २० युनिट बिजुली नि:शुल्क

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली नि:शुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले भुक्तानी गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६/०७७ देखि ६/६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी गर्दै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । ‘गाउँपालिकाको मुख्य सडक र सबै घर उज्यालो कार्यक्रम’अन्तर्गत गाउँपालिकाबासीलाई न्यूनतम २० युनिटसम्मको बिजुलीको महसुल आफैले ब्यहोर्दै आएको हो ।
गाउँपालिकाले प्राधिकरणलाई हालसम्म चार हजार ६ सय १६ घरधुरीलाई २० युनिटसम्मको खर्च बेहोर्दै आएको छ । “आर्थिक अभावका कारण कोही पनि नागरिकले अँध्यारोमा बस्न नपरोस् भनेर अभियान चलाएका हौँ,” अध्यक्ष थापाले भने, “अभियानबाट अतिविपन्न समुदायका नागरिक बढी लाभान्वित भएका छन् ।”
न्यूनतम २० युनिटसम्मको महसुल गाउँपालिकाले बेहोर्ने भएपछि एक हजार दुई सयदेखि एक हजार पाँच सय परिवारले थप रकम भुक्तानी गर्नुपर्ने नदेखिएको अध्यक्ष थापाले बताए । २० युनिटभन्दा माथि खपत भएको बिजुलीको महसुल उपभोक्ता स्वयंले भुक्तानी गर्नुपर्नेछ ।
गाउँपालिकाले पुराना काठका पोल हटाएर नयाँ मापदण्डका राखेको छ । गाउँपालिकाले इन्डक्सन चुल्हो वितरणमा जोड दिएको छ । ऊर्जा प्रवद्र्धन कार्यक्रमअन्तर्गत मुख्य सडक किनारमा ६० सोलार बत्ती जडान गरेको छ भने एक सय १० वटा विना सोलारका बत्ती जडान गरेको अध्यक्ष थापाले बताए ।
कालिगण्डकीले सातवटै वडाका प्रत्येक घरधुरीमा बिजुली पुर्‍याएको छ । एक सय ४४ मेगावाटको कालिगण्डकी ‘ए’ जलविद्युत परियोजना यही पालिकाको वडा नं ५, ६ र ७ मा पर्दछ । वडा नं ७ को मिर्मी बजारभन्दा केही तल बाँध बाँधेर जलाशय निर्माण गरी सुरुङमार्ग हुँदै वडा नं ५ को बेलटारीमा विद्युत उत्पादन गृहमा पानी खसालिएको छ ।

प्रतिक्रिया दिनुहोस्