पहाडी मूलका जुजुमानको पहिलो शैलुन «

पहाडी मूलका जुजुमानको पहिलो शैलुन

शैलुन भन्ने बित्तिकै सबैलाई मधेसी वा भारतीय नागरिकको सम्झना आउँछ । शैलुन पेसा तथा व्यवसायमा अहिलेसम्म मधेसी वा भारतीय मूलका मानिसको एकाधिकार छ । तर धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–३ पहरे चौतारास्थित ‘भूपू सैनिक स्टायल हेयर कटिङ’ मा तपार्इं पुग्नुभयो भने फरक दृष्य अर्थात् पहाडी मूलको मानिस कपाल काट्दै गरेको देख्नुहुन्छ । त्यो पनि बजारमा शैलुनले लिँदै आएको सामान्य मूल्यभन्दा ५० प्रतिशत कममा वा जम्मा ५० रुपैयाँमा मात्र ।
जुजुमान गुभाजू यतिबेला आफ्नै घरमा शैलुन व्यवसाय (दाह्री, कपाल काट्ने) सञ्चालन गरिरहेका छन् । उनको शैलुनमा ५० रुपैयाँमा कपाल काट्न पाइछ । अनौठो कुरा के छ भने पैसा नहुने, असहाय, अपांगता भएका व्यक्ति, बालबालिका र वृद्धहरूको नि:शुल्क कपाल काट्ने व्यवस्था मिलाएका छन् । आफन्त इष्टमित्रहरूको कपाल काटेको पैसा लिन्नन्, उनीहरूले दिने पैसा एउटा बाकसमा सबैले देख्ने गरी राखिएको छ्, कसैले ५० रुपैयाँभन्दा बढी दिए भने पनि बढी पैसा त्यो बाकसमा राख्ने गरेको गुभाजुले बताए । बाकसमा जम्मा हुने पैसा आफ्नो टोलभरिका (पहरेचौतारा टोल सुधार समिति) विद्यार्थीमध्ये जसले धेरै जीपीए ल्याएर एसईई पास गर्छन् उसैलाई दिने सोच रहेको गुभाजुले बताए ।

कसरी सुरु भयो जुजुमानको शैलुन व्यवसायको यात्रा
नेपाली सेनाबाट २०७४ सालमा सेवा निवृत्त भएका गुभाजूले रहरले उक्त पेसा भने सुरु गरका होइनन् । शैलुन सञ्चालन गर्न उनलाई २०७८ सालमा बाध्यता आइपर्‍यो । आफ्नो टोलमा एउटै पनि शैलुन नभएपछि दाह्री, कपाल काट्न मुख्य बजार नै पुग्नपर्ने उनलाई र टोलबासीलाई बाध्यता थियो । उनले एकजना शैलुन पेसा गर्नेलाई आफ्नो टोलमा शैलुन राख्न आग्रह गेरर व्यवसाय सुरु गर्नका लागि ४५ हजार ऋण दिएको गुभाजुले बताए । वीरगन्ज घरभएका शैलुन सञ्चालकले व्यवसाय सुरु गरेको केही समयमा कोरोना महामारीले राम्रोसँग काम गर्न पाएनन् । कोरोनाकालमै शैलुन सञ्चालकलाई घरभाडा छुट दिए । व्यवसाय सुरु गर्नका लागि आफूले दिएको ऋण फिर्ता पनि पाए । तर निरन्तरको लकडाउनका कारण घर गएका शैलुन सञ्चालक फर्केर नआएपछि उनको घरमा रहेको शैलुन अलपत्र पर्‍यो ।
अरुलाई सटर भाडमा दिउँ भने सटरभरि शैलुनका सामान छ, कहाँ लैजाने । नदिऊँ अब के गर्ने भन्ने दोधारका बीच जागिर खानुभन्दा आफूमा भएको सीप अब यहीं प्रयोग गर्छु भन्ने लागेर आफैले मर्मत सम्भार गरेर शैलुन सेवा सुरु गरेको गुभाजुले बताए । शैलुन सञ्चालनमा ल्याउनका लागि गुभाजुलाई अर्को सजिलो पनि के भयो भने उनकै घरमा भाडामा बस्ने दुईजना बजारमा चलेको शैलुनमा पनि काम गर्थे । केही प्राविधिक ज्ञान उनीहरूबाट सिकेर अहिले व्यावसायिक रूपमा जुजुमानले शैलुन सञ्चालन गरिरहेको बताए । दैनिक छाक टार्न मुस्किल भएर होइन, रहरले पनि होइन बाध्यतामा परेर सुरु गरेको व्यवसायले राम्रो प्रतिफल दिइरहेको गुभाजुले बताए ।
यतिबेलाको उनको शैलुनमा सेवा लिन दैनिक ४० देखि ५० जनासम्म आउने गरेका छन् । “धेरै खर्च पनि नहुँदो रहेछ, नपत्याउँदो पैसा कमाइ हुने रहेछ यो पेसामा,” गुभाजुले भने, “मैले कम शुल्क लिँदा त फाइदै फाइदा भइरहेको छ भने सामान्य सीप सिकेको खण्डमा घर चलाउन र परिवाल पाल्नकै लागि विदेश गइरहने नपर्ने रहेछ नि । हामीले सिक्न र गर्न खोज्नै पो नचाहेका रहेछौं ।”
विपन्न असहाय र बालबालिकालाई किन नि:शुल्क सेवा दिएको भन्ने प्रश्नमा जुजुमान भन्छन्, “पैशा कमाएरै मात्रै आत्मसन्तुष्टि हुँदो रहेनछ भन्ने कुरा मैले नेपाली सेनाको जागिर खाँदा अनुभव गरें । सेनाकै जागिरले बालबच्चा पढाएँ, घर बनाएँ, तर पनि मनमा कता कता के नपुगेको जस्तो लागिरहन्थ्यो । मलाई सामाजिक सेवा गर्ने अवसर जुरेको रहेछ क्यारे, यो पेसाले मलाई घरखर्च चलाउने पैसासँगै आत्मसन्तुष्टि पनि दिएको छ ।”
कपाल काट्दा हेर्ने ऐनामा उनले एउटा वाक्य लेखेका छन् ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु बराबर हो ।’ देशको यो हालत भएको, लाखौ युवा रोजगारीका लागि विदेशिनु पर्ने अवस्था आइरहेको सबै भ्रष्टाचारले गर्दा हो, नेतृत्व तहमा रहेका सबैजनाले इमान्दार बनेर आफ्नो जिम्मेवारी मात्रै पूरा गर्ने हो भने देशले धेरै फड्को मार्ने मेरो बुझाइ छ, त्यही भएर यो लाइन कपाल काट्न आउनेहरूले एकपटक पढून भनेर राखेको हुँ ।
सुरुमा आफूले कपाल काट्ने काम सुरु गर्दा हाँसीमजाक गरेका छिमेकी पनि उनको सेवा गर्ने शैली देखेर अहिले निकै खुसी छन् । कसैले यो पेसा सिक्न चाहेमा नि:शुल्क सिकाइदिने पनि जुजुमानले बताए । चार छोरीका पिता जुजुमानले दुई छोरीलाई उच्च शिक्षा पढाइसकेका छन्, एउटी त बेलायत छन् भने एउटी बालमैत्री अस्पतालमा स्टाफ नर्स छन् । २ छोरी धादिङबेसीकै चिल्ड्रेन पार्क बोर्डिङमा पढ्छन् । श्रीमान्को कामप्रति उनकी श्रीमती तुलमाया पनि खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्