Logo

मोदी गाउँपालिकाले उपभोक्ताको विद्युत महसुल तिरिदिने

पर्वतको मोदी गाउँपालिकाले अबदेखि उपभोक्ताको विद्युत महसुल तिरिदिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्र रहेको मोदी गाउँपालिकाले ‘रोयल्टी’ वापत वार्षिक झण्डै एक करोड ३० लाख रुपैयाँ पाउने गरेको छ । सोही रकमबाट स्थानीय तहका सबै उपभोक्ताको विद्युत महसुल गाउँपालिकाले एकमुस्ट रूपमा तिर्ने गरी नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रसँग सहमति भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार मोदी गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकामा रहेका घरमा विद्युत जडान गरेका उपभोक्ताको विद्युत महसुल गाउँपालिकाले अनुदान उपलब्ध गराउने योजनाअनुसार केन्द्रसँग सम्झौता भएको हो ।
“नेपाल विद्युत प्राधिकरणको मोदीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्र मोदी गाउँपालिका हो । यसबाट वार्षिक करिब एक करोड ३० लाख रोयल्टी आउँछ । सोही रकमबाट हामीले हरेक नागरिकको मिटरको महसुल तिर्नेगरी वार्षिक स्वीकृत कार्यक्रम तय गरेका थियौं,” उपाध्यक्ष लामिछानेले भने, “सकेसम्म नागरिकको पक्षमा काम गर्ने भनेर नै यहाँ आएका हो । यत्ति सम्झौताले पनि धेरै नागरिकलाई स्थानीय सरकार आफूहरूको साथमा रहेको महसुस गराउने छ ।”
‘रोयल्टी’ स्वरूप आएको रकमबाट नै खर्च धान्न सक्ने भएपछि गाउँपालिकाले पातिचौर क्षेत्रसहित मुख्य बजार र चोकमा सडक बत्ती जडानको योजना पनि बनाएको उनको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले मोदी गाउँपालिकाभित्रका उपभोक्ताको मिटरमा जति युनिट महसुल उठेको भए पनि दामासाहीमा मासिक २० युनिट मानेर गाउँपालिकाले रकम तिर्ने सम्झौतामा उल्लेख रहेको बताए । “मोदी गाउँपालिकाको क्षेत्राधिकारभित्र पर्ने पर्वत वितरण केन्द्रद्वारा मिटर जडान भएका ग्राहकको स्वीकृत लोड क्षमता जति भए पनि सम्पूर्ण ग्राहकको मासिक दामासाही ३० रुपैयाँका दरले तिर्ने भन्नेमा सम्झौता भएको छ,” उनले भने, “हामीले विभिन्न आठ बुँदा राखेर यस सम्बन्धमा सम्झौता गरेका छौं । यो सम्झौता अब नयाँ मिटर जडान गर्ने ग्राहकको लागि पनि हो ।”
केन्द्र प्रमुख गोसलीका अनुसार गाउँपालिकामा झण्डै तीन हजार उपभोक्ता छन् । उनीहरू सबैको मासिक न्यूनतम शुल्क ३० रुपैयाँका दरले मासिक ९० हजार रुपैयाँ हुन्छ । गाउँपालिकाले प्रत्येक तीन महिनाको रकम अग्रिम रूपमा एकमुष्ट पर्वत वितरण केन्द्रको खातामा जम्मा गर्नुपर्नेछ । गाउँपालिकाले प्रत्येक तीन महिनामा करिब दुई लाख ७० हजार रुपैयाँ केन्द्रको खातामा जम्मा गर्ने छ । एक वर्षमा करिब १० लाख ८० हजार रुपैयाँ मोदीले वितरण केन्द्रलाई तिर्नेछ ।
गाउँपालिकाले तिरिदिने रकम घरायसी प्रयोजनका लागि जडान भएका मिटरहरूका लागि भएकाले औद्योगिक प्रयोजनका लागि जोडिएका मिटर भने यो सम्झौतामा पर्ने छैनन् । केन्द्रले जडान गरेको विद्युत मिटरको मासिक ३० रुपैयाँभन्दा बढी लाग्ने अवस्था रहेमा त्यो महसुलवापतको रकम उपभोक्ताबाट गाउँपालिकाले नै उठाउने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा मोदी गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम र पर्वत वितरण केन्द्रको तर्फबाट केन्द्र प्रमुख शिवनारायण गोसलीले हस्ताक्षर गरेका छन् । यो सम्झौता १ भदौ २०७९ देखि लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्